जनप्रतिनधिहरुलाई जनताको जीवनस्तर परिवर्तनमा लाग्न प्रदेश प्रमुख शेरचनको निर्देशन


appharu

२१ जेष्ठ २०७९, शनिबार १६:३० मा प्रकाशित

पालिकापत्र,बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनप्रतिनधिहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवन स्तर माथि उकास्नका लागि जस्तो सुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नका लागि अनुरोध गर्नुभयो ।
संविधानले स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनालाई पूर्ण पालना गरेर अघि बढ्न शेरचनले आग्रह गर्नुभयो । प्रदेश प्रमुख अमिक शेरचनले स्थानीय सरकार जनताको घर दैलोको सरकार भएकाले जनतालाई सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले प्रदेश सरकारको समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी नारा सार्थक बाउन स्थानीय सरकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
जनताको आधारभूत आवश्यकताका आधारमा योजना निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले १०९ स्थानीयतहलाई समन्वय गरी अभिभाकत्व ग्रहण गर्दै अगाडि बढ्ने कुरामा सधँै दृढ रहेको बताए । कार्यक्रममा सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि काम गर्न आग्रह गरे ।
अन्तरक्रियामा संघीयताविज्ञ खिमलाल देवकोटाले स्थानीय तह बलियो भए संघीयता बलियो हुने बताए ।
नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावना अनुसार काम गर्न सुझाव दिए । कार्यक्रममा १०९ स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुको सभागीता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव नरेन्द्र रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्