कृष्णनगर सीमा क्षेत्रमा लुकाइराखेको १० लाख बढीको औषधी बरामद


पालिका पत्र

26 August, 2026 9:09 pm मा प्रकाशित

चन्द्रौटा । कपिलवस्तुमा भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएको १० लाख ८२ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका महँगा औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ।

कृष्णनगर सीमा क्षेत्रमा दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा बुधबार दिउँसो करिब ११ बजे औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद औषधीमध्ये क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । प्रहरीले पोली डी २२२ बोतल, सिपमिडो ६९ पिस, नियोसर्फ २० बक्स, माइकोफिट १४ बक्स, प्याजिनिभ ४ बक्स, भिभ्याट एक बक्स र विभेट्यास एक बक्स बरामद गरेको हो ।

कृष्णनगर सीमा क्षेत्रमा लुकाएर राखिएको अवस्थामा भेटिएको औषधी भन्सार छली गरी नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बरामद औषधी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्