लुम्बिनीका १०९ पालिका प्रमुख/उपप्रमुखलाई प्रशिक्षण, भ्रष्टाचारमुक्त बन्न मन्त्री श्रेष्ठको निर्देशन


appharu

३० जेष्ठ २०७९, सोमबार १४:२२ मा प्रकाशित

पालिकापत्र,बुटवल । लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख / उपाध्यक्षलाई रुपन्देहीमा भेला गरेर ‘स्थानीय सरकार सञ्चालन तथा विकास सम्बन्ध’ विषयमा प्रशिक्षण दिन शुरु गरिएको छ ।

दुई दिनसम्म चल्ने अभिमुखीकरणमा उनीहरुलाई स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, सुशासन र सदाचार, सार्वजनिक खरिद, राजस्व र योजना, राजस्व सुधार, असल अभ्यास,वस्ती विकास लगायतका विषयमा एक दर्जन विषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री श्रेष्ठले स्थानीय तहहरुको बेरुजू ४ गुणाले बढेर ४० अर्ब पुगेको उल्लेख गर्दै स्थानीय तहका सरकारले सुशासन र पारिदर्शिता कायम राख्नुपर्ने
निर्र्देशन दिए । स्थानीय सरकार असफल भए संघीयता असफल हुने मन्त्री श्रेष्ठले बताए । जनताको अंकुशमा नबस्ने जनप्रतिनिधिहरु निरंकुश हुने भन्दै उनले निरंकुश नहुन सुझाव दिए ।

मन्त्री श्रेष्ठले संघीयता सफल बनाउन संघीय सरकारले एकात्मक सोंच त्याग्नुपर्ने सुझाव दिए । नेपालको संघीयता तीन तहका सरकारबीच सहअस्तित्व, सहकारिता र समन्वयमा आधारित भएको संविधानमै उल्लेख भएको मन्त्री श्रेष्ठले बताए । स्थानीय तहलाई न्यायोचित वजेट वितरण नभएको उनले बताए ।

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्ती, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव डिल्लीराम शर्मा, प्रदेश प्रशिक्षण प्रतिष्ठानका सीईओ गुरुप्रसाद शर्माले जनप्रतिनिधिलाई सुशासनयुक्त र पारदर्शी सेवा प्रवाह गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्