प्रेमीको श्रीमती कुटेपछि पक्राउ परेकी राज्यमन्त्री विमला रातारात मुख्यमन्त्री निवासमा


appharu

१ असार २०७९, बुधबार ०९:५५ मा प्रकाशित

पालिकापत्र, बुटवल । दाङको तुलसीपुरमा एक महिला र बालिकालाई हातपात सहित अभद्र व्यवहार गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई रातारात बुटवल ल्याइएको छ ।
दिनभर जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा मंगलबार राति नै दाङबाट बुटवल ल्याएर मुख्यमन्त्री निवासमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा राखिएको हो ।
उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।
प्रदेश सभा वैठक र वहालवाला मन्त्री भएको कारण देखाउंदै बुटवल पठाइदिन सरकारले आग्रह गरेपछि मंगलबार राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
राज्यमन्त्री वलीमाथि मंगलबार बिहान ८ बजेतिर सरकारी सुरक्षा गार्डसहित तुलसीपुर–५ निवासी प्रेमी भनिएका एक व्यक्तिको घरमा गएर उनकी पत्नी र छोरीमाथि हातपात र अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध राजयमन्त्री वलीका प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी छन् । तर जाहेरी दर्ता भएको छैन ।
एसपी काफ्लेले मिनाका श्रीमान् एकराज बस्नेतलाई पनि नियन्त्रणमा लिएपछि घटनाबारे थप अनुसन्धान हुने र त्यसका आधारमा अन्य प्रक्रिया थालिने बताए ।
दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट प्रदेश सांसदमा निर्वाचित विमला भएकी हुन् । नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । गत वर्ष साउनमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सचिवालय र एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले आफूलाई अपहरणको शैलीमा दाङबाट बुटवल ल्याएर मुख्यमन्त्री निवासमा तीन दिन बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेपछि विमला चर्चामा आएकी थिइन् ।
महिला र बालिकामाथि हातपात र अभद्र व्यवहार पदीय आचरण विपरित अमर्यादित हर्कत भन्दै नेकपा एमालेले राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिनद खनालले पनि राज्यमन्त्री वलीलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्