पूर्ण सरसफाइका सबै सूचक पूरा, घोषणा पर्खाइमा वाणगंगा–८


पालिका पत्र

4 July, 2026 6:42 pm मा प्रकाशित

कपिलवस्तु, असार २० । वाणगंगा नगरपालिका–८ पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा पुगेको छ । पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भइसकेकाले अब औपचारिक घोषणा मात्र बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।

घोषणाअघि आयोजित अन्तिम समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीले पूर्ण सरसफाइका मापदण्डलाई व्यवहारमै निरन्तर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका वातावरणविद् नवीन पाण्डेले पूर्ण सरसफाइ शौचालय निर्माणमा मात्र सीमित विषय नभई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, घर तथा सार्वजनिक स्थलको नियमित सरसफाइ, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्वास्थ्यकर जीवनशैलीसँग जोडिएको समग्र अभियान भएको बताउनुभयो । उहाँले पूर्ण सरसफाइका सूचक व्यवहारमा लागू भए मात्रै स्वस्थ, सुरक्षित र दिगो समुदाय निर्माण सम्भव हुने धारणा राख्नुभयो ।

प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले वडा नं. ८ पूर्ण सरसफाइ घोषणाको अन्तिम चरणमा पुग्नु सम्पूर्ण वडावासीका लागि गौरवको विषय भएको बताउँदै सरसफाइलाई नगरको समग्र विकासको आधारका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँले घोषणा गर्नु मात्रै पर्याप्त नहुने भन्दै प्राप्त उपलब्धिलाई दीगो बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष बाबुराम अर्यालले पूर्ण सरसफाइ घोषणासम्म आइपुग्नु वडावासीको एकता, मेहनत र साझा प्रतिबद्धताको परिणाम भएको बताउनुभयो । उहाँका अनुसार सरसफाइ कुनै एकदिने अभियान नभई दैनिक जीवनशैली र संस्कार हो । घोषणा पछि पनि सरसफाइलाई निरन्तरता दिँदै वातावरण संरक्षण, फोहोरको उचित व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, सुरक्षित खानेपानीको प्रयोग तथा सार्वजनिक स्थलको नियमित सरसफाइमा सबैको सक्रिय सहभागिता आवश्यक छ ।

कार्यक्रममा सहभागीहरूले पूर्ण सरसफाइलाई स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सभ्यता र दिगो विकाससँग प्रत्यक्ष जोडिएको अभियानका रूपमा निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

वडा कार्यालयका अनुसार प्रत्येक घरधुरीमा सुरक्षित शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित खानेपानीको प्रयोग, घर तथा सार्वजनिक स्थलको नियमित सरसफाइ, फोहोरको उचित व्यवस्थापन, ढल तथा पानीको सुरक्षित निकास, खुला रूपमा फोहोर फाल्ने प्रवृत्तिको अन्त्यलगायत पूर्ण सरसफाइका सबै सूचक प्रभावकारी रूपमा कार्यान्वयन भइसकेका छन् ।

स्थानीयवासीको सक्रिय सहभागिता, जनप्रतिनिधिको नेतृत्व तथा सरोकारवाला निकाय र सामुदायिक संस्थाको सहकार्यबाट प्राप्त उपलब्धिले वाणगंगा नगरपालिकाभित्र सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रीता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा सचिव विष्णु गौतम, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य शैलेन्द्र बेल्वासेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्