नेकपा एकीकृत समाजवादी लुम्बिनी र रुपन्देहीमा नेतृत्व हेरफेर


appharu

२५ असार २०७९, शनिबार १९:०० मा प्रकाशित

पालिकापत्र, बुटवल । नेकपा एकीकृत समावादीको लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको नेतृत्वमा हेरफेर भएको छ । प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसद समेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको हो । यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ । जसअनुसार प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएकाले उनको ठाउंमा श्रीराम यादव भयन भएका छन् । यस्तै अर्का उपाध्यक्षमा चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल,टंक पोखरेल र मिरा श्रेष्ठ चयन भएका छन् । रुपन्देही जिल्लाको नेतृत्व हेरफेरसम्बन्धी जिल्ला समितिले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेको प्रदेश सचिव राजु गुरुङले बताए ।
वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रीत हुन निर्देशन दिएका सचिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्