बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी


appharu

२६ असार २०७९, आईतवार १२:१८ मा प्रकाशित

पालिकापत्र, बुढीगंगा । सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित भएको छ । ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । जस अनुसार आइतबार सम्पन्न मतगणना अनुसार मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का कुँवरको जित भएको हो ।

मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाउ.दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाएकी छन् । नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा १३ हजार ६५९ मतदाता रहेकोमा ९ हजार १२८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्