बुद्धभूमिका ५८ जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क चश्मा वितरण


appharu

८ श्रावण २०७९, आईतवार ०८:४५ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ५८ कर्मचारी र जनप्रतिनिधिलाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेसन इन्टरनेसनलको आर्थिक सहयोगमा नजिकको दूरीको लागि उपयोगी हुने चश्मा वितरण गरिएको हो ।

नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा ४० वर्षमाथिका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीलाई चश्मा वितरण गरिएको अस्पतालका निर्देशक डा. सुलक्ष्मी कटुवालले जानकारी दिइन् ।

प्रशासकीय अधिकृत जसराज विश्वकर्माले आगामी दिनमा चश्मा वितरण जारी रहने जानकारी दिए । बुद्धभूमि नगर प्रमुख केशवकुमार श्रेष्ठले आँखा अस्पताल बहादुरगञ्जले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।

अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यसअघि सञ्चालन हुँदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने उनले जानकारी दिए ।

अन्धोपन न्यूनीकरणका लागि आँखा अस्पताल र बुद्धभूमि नगर पालिकाबीचको समन्वय र सहकार्य विगतका वर्षदेखि नै हुँदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकका माध्यमबाट नगरवासीले आफ्नो घरदैलोमै आँखा स्वास्थ्य सेवा पाइरहेको अस्पतालका निर्देशक डा. कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्