एसईईको नतिजा आज ,चार लाख १४ हजार थिए परीक्षार्थी


appharu

११ श्रावण २०७९, बुधबार ०९:०४ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुँदै छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म भएको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको जानकारी दिए । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको थियो ।

नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ ।

यसैगरी ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्