गाउंपालिका अध्यक्षले निर्दोषलाई लागु औषध मुद्दामा फसाएको भन्दै कारवाहीको माग


appharu

३० श्रावण २०७९, सोमबार १९:३८ मा प्रकाशित

पालिकापत्र,रामग्राम । गाउंपालिका अध्यक्षले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको भन्दै कारवाही गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसंगको मिलेमतोमा कवाडीको काम गर्दै आएका भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको हो ।

नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला सदस्य चन्द्रमणि चौधरीले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा निर्दोषलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । दोषीलाई कारबाहीको माग गर्दै ब्यानरसहित निस्केको जुलुसले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

थुनामा रहेका भारतीय नागरिकहरु भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्राम पटजिलवाका हुन् । उनीहरु कवाड ब्यापारको लागि नवलपरासीमा भूमहीमा बस्दै आएका थिए ।
गत असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले गुप्ता र पासवानलाई चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागु औषध उनीहरुको भन्दै प्रहरीलाई बोलाएर पक्राउ गराएको ज्ञापनपत्रमा उल्लेख छ ।

उनीहरु बसेको ठाउंमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र प्रहरी प्रधान कार्यालय काठमाडांै समेतबाट अनुसन्धान भइरहेको भन्दै प्रतिवेदन सार्वजनिक गरी घटनामा संलग्न दोषीलाई कारवाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
गुप्ता र पासवानले गाउंपालिका अध्यक्षबाट आफ्नो कवाड खरिद गरेवापतको एक करोड ३३ लाख बढी रकम लिन बांकी रहेको र उक्त रकम नतिर्न आफूहरुलाई फसाएको प्रहरीलाई बयान दिएको नेपाली कांग्रेस पाल्हिनन्दन गाउंपालिकाका सामाजिक अगुवाको दावी छ ।

गाउंपालिका अध्यक्ष गुप्ताले १०–१२ जना मान्छे खटाएर लागु औषधको कारोबार समेत गर्ने गरेको र उनको कारोबारमा प्रहरीको संरक्षण रहेको आरोप छ । ‘उनी लागु औषधको पनि कारोबारी हुन्, उनलाई बचाउन जिल्लाका प्रहरी प्रमुखको पनि मिलेमतो छ’–सामाजिक अगुवाले भने–‘यो घटनाको निष्पक्ष छानवीन हुने हो भने गाउंपालिका अध्यक्ष र एसपी दुबै कारवाहीमा पर्छन् ।’ आफू पनि फस्ने भएपछि एसपी कँडेल घटनालाई सामसुम पार्न लागेका र घटनालाई मिलाउन अध्यक्ष गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत गुहारेको स्थानीय बासिन्दाहरुको दावी छ ।

गाउंपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनीविरुद्ध अन्य थुप्रै मुद्दा समेत रहेको स्थानीयको दावी छ ।
निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा समेत निर्दोष व्यक्ति परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कंडेलले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । घटनाको वास्तविकता बुझेर थप प्रकृया अघि बढाउन पाल्हीनन्दन गाउँपालिकाका पूर्व प्रहरी रघुनाथ धोवीलाई पक्राउ गरेकाले केही दिनमा यथार्थ खुल्ने कंडेलले बताए ।
पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्