बुटवलका मेयर भन्छन् : ठेकेदारको म्याद नथपौं


appharu

४ भाद्र २०७९, शनिबार २०:१६ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्ड निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठसँग छलफल गर्नुभयो । सडक निर्माणमा निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै प्रमुख पाण्डेयले असन्तुष्टि व्यक्त गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गर्नुभयो । बुटवलबासीको आक्रोश बढ्दै गएको भन्दै उहाँले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँले सडक निर्माणमा निर्माण व्यवसायीबाट काम हुँदा नहुँदा ताकेता र चासो व्यक्त गर्ने र कामलाई तीब्रता दिलाउने, अनुगमन गर्ने काममा थप चासो दिन आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो काम सक्नका लागि ताकेता गर्न आग्रह गर्नुभयो ।
सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठले विभागले निर्माण कम्पनीले समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने बताउनुभयो ।
उहाँले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकोमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सडक निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना बढेको र बुटवलबासीले सास्ती खेप्नुपरेको बताउनुभयो ।
उहाँले सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले जुनसुकै समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौंभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सल्लाहकार दिनेश पाण्डे, पत्रकारहरु दामोदर खनाल, यमलाल भुसाल, शरण कर्माचार्य, भगवती पाण्डेलगायतले बोल्दै सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीरतापूर्वक चासो नदेखाएको बताउनुभएको थियो ।
(((((((((

प्रतिक्रिया दिनुहोस्