रुपन्देही ५ मा एमालेको जीत सुनिश्चित : खिमलाल भट्टराई


appharu

२४ कार्तिक २०७९, बिहीबार ०७:२१ मा प्रकाशित

पालिकापत्र, सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं ५ मा जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग चुनावी तालमेल गरी प्रतिनिधिसभामा बासुदेव घिमिरे तथा प्रदेशसभामा भूमिश्वर ढकाल एवं रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
गैडहवामा चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले क्षेत्र नं ५ का बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमालेका उम्मेदवारले मात्र पूरा गर्न सक्ने भएकाले पार्टीको जीत सुनिश्चित रहेको बताए । उनले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकोले क्षेत्र नं ५ का मतदाताले एमालेका विकाशप्रेमी उम्मेदवारलाई विजयी बनाउने बताए ।
राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका नेता भट्टराईले एमालेसँग शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक सशक्तिकरणको स्पष्ट योजना रहेको बताउँदै समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी एमाले मात्र रहेको बताए । नेपाली काँग्रेसबाट जितेका सांसदले १५ वर्ष सम्म क्षेत्र नं ५ को यथोचित विकास गर्न नसकेको बताउँदै नेता भट्टराईले मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने दाबी समेत गरे ।
यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले अव्यवस्थित बसोबासी, भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरणको विषयलाई एमालेले महत्व दिने बताए ।

प्रतिक्रिया दिनुहोस्