देशलाई एमालेको वहुमत आवश्यक छ : गोकर्ण विष्ट


appharu

२६ कार्तिक २०७९, शनिबार ०७:०१ मा प्रकाशित

पालिकापत्र,तम्घास । नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको विकास र समृद्धिका लागि एमालेको वहुमत आवश्यक भएको बताएका छन् ।
शनिबार बिहान तम्घासमा पत्रकारहरुसंग कुराकानी गर्दै गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विष्टले एमाले वाहेक अन्य दलसंग देश विकास र जनताको समृद्धिका स्पष्ट योजना र सही नेतृत्व नभएको तर्क गरे । उनले एमालेको घोषणापत्र र विगतमा गरेका लोकप्रिय कामहरुका आधारमा मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा एमालेको वहुमतलाई कसैले रोक्न नसक्ने दावी समेत गरे । ‘विगतमा नेकपा एमालेले गरेका तमाम कामहरु र अघि सारेका योजना र कार्यक्रमका आधारमा फेरि पनि जनताले एमालेलाई नै वहुमत दिंदैछन्’– विष्टले भने–‘सत्ता गठबन्धनसंग न्युनतम साझा कार्यक्रम पनि नभएकाले यो दिशाहीन र गन्तव्यविहीन छ, भावी प्रधानमन्त्री को हुने भन्ने पनि छैन तर एमालेले स्पष्ट एजेण्डासहित भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकेकाले एमालेको पक्षमा वहुमत आउंछ ।’ आफु उर्जामन्त्री र श्रम तथा रोजगार तथा मन्त्री हुंदा गरेका युगान्तकारी निर्णय र जनप्रिय काम तथा गुल्मी क्षेत्र नं. २ मा खानेपानी,विद्युत,सडक,शिक्षा,स्वास्थ्य र खेलकुदका क्षेत्रमा गरेका कामका आधारमा आफ्नो जित निश्चित भएको विष्टले दावी गरे । आफू सांसद र मन्त्री हुंदा कसैलाई पक्षपात र भेदभाव नगरी काम गरेकाले सबै दलका मतदाताको आफूप्रति सद्भाव र सहयोग गरेको विष्टले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्