मधेशी जनताको हित एमालेले मात्रै गर्नसक्छ : विष्णु पौडेल


appharu

३० कार्तिक २०७९, बुधबार ०९:५७ मा प्रकाशित

पालिकापत्र,बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मधेशको विकास र मधेशी जनताको हित एमालेले मात्रै गर्नसक्ने बताएका छन् ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मधेशी, पहाडी र हिमाली क्षेत्रका जनताको इच्छा र अपेक्षाअनुसार काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेलाई जिताउन आग्रह गरे । संयुक्त मधेसी समाजले बुटवलमा आयोजना गरेको बृहत मधेसी भेलालाई सम्बोधन गर्दै पौडेलले सबै जात–जाति धर्म समुदायलाई समेट्नेगरी भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास आजको आवश्यकता रहेको औंल्याए ।

विकासमा पछाडि परेको तराई मधेशमा हुलाकी सडक र तराईका सबै जिल्ला सदरमुकाम जोड्ने सडकलाई कालोपत्रे सडकमा स्तरोन्नति गर्ने कामको शुरुवात एमालेले गरेको नेता पौडेलले बताए ।
आगामी मंसिर–४ को निर्वाचनमा निसंकोच सूर्यमा मतदान गर्न आग्रह गर्दै एमालेले जनताको मतलाई खेर जान नदिने दाबी गरे । मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने क्षमता एमालेसँग भएको बताउँदै उनले सूर्यमा मतदान गरेर सही निर्णय गरिएछ भन्ने अनुभूति जनतलाई दिलाएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । शिक्षा तथा स्वास्थ्यको विकास तथा सीपमूलक प्राविधिक शिक्षालयहरुको निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।
उद्योग कलकारखानाको स्थापना, पर्यटन व्यवसायको प्रवद्र्धन तथा युवाहरुको सीप र क्षमताको विकास गरी मुलुकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानुपर्ने उनले बताए । यसैगरी सबै जातजाति र धर्म समुदायप्रति राज्यले समान दृष्टिकोण राखेर उनीहरुको विकासमा सहयोग गर्नुपर्ने पौडेलले उल्लेख गरे ।

कार्यक्रममा मधेशी समुदायका नेता अशोक वर्मा लगायतले रुपन्देही २ मात्र नभई देशभरका मधेशी समुदाय मंसिर ४ को चुनावमा एमालेलाई भोट दिन आतुर रहेको बताए । पांच थरि विचार बोकेर पांच तिर फर्किएको सत्ता गठबन्धनबाट देशले सही निकास र विकास नपाउने मतदाताले राम्ररी बुझेकाले एमालेको जितलाई कसैले नरोक्ने उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्