शोक बिदामा बाणगंगाको माघी महोत्सव उद्घाटन, आलोचनामा मेयर, उपमेयर


appharu

२ माघ २०७९, सोमबार १८:४४ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
सोमबारको लागि सरकारले मुलुकभर राष्ट्रिय शोक मनाइरहँदा कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल र उप-मेयर रिता चौधरी भने एउटा नगरस्तरीय औपचारिक कार्यक्रममा सहभागी भएर आलोचित भएका छन् ।

आइतरबार ७२ जनाको मृत्यु हुने गरी आन्तरिक उडानतर्फ पोखरामा अहिलेसम्मको सबैभन्दा ठूलो विमान दुर्घटना भएको थियो । त्यसपछि मन्त्रीपरिषद्को आकस्मिक बैठक बसेर सोमबारको लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

त्यसैकारण प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका मन्त्री, धेरैजसो स्थानीय पालिका, बिभिन्न संघ-संस्थाले सोमबार आफ्ना सम्पूर्ण पूर्व निर्धारित औपचारिक कार्यक्रम बन्द गरेका थिए । तर बाणगंगा नगरपालिका मेयर अर्याल र उपमेयर रिता चौधरी खुलेआम औपचारिक कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका छन् ।

सोमबारको लागि नगरभित्र हुने सबै औपचारिक कार्यक्रम बन्द गर्नुको सट्टा उल्टै नगरस्तरीय कार्यक्रम गर्न छुट दिनु र आफै सहभागी हुनुले मेयर र उपमेयरमा अलिकति पनि ‘कमन सेन्स’ छैन भन्ने पुष्टि भएको भन्दै नागरिक स्तरबाट आलोचना भएको छ । नगरका केही पूर्व वडाअध्यक्षहरु र पत्रकारले मेयर अर्यालले आज गम्भिर गल्ती गरेको बताउँछन् ।

सामाजिक अगुवा तेजप्रसाद आचार्यले सामाजिक सन्जालमा लेख्छन्, ‘राज्यले शोक मनाई रहदा औपचारिक कार्यक्रम सञ्चालन गर्नु कति सान्दर्भिक हो ।’

सोमबार बाणगंगाको वडा नम्बर ९ भलवाडमा नगरस्तरीय चौथो माघी तथा खिचडी महोत्सव आयोजना भएको थियो । त्यही कार्यक्रममा मेयर अर्याल, उपमेयर चौधरी, केही वडा अध्यक्ष र कर्मचारी सहभागी भएका थिए ।

यता नगरपालिका श्रोतले भने नगरको पूर्व निर्धारित कार्यक्रम र थारु समुदायको उल्लासपूर्ण चाड रहेकाले र बाध्य भएर सहभागी भएको बताउँछन् । सोही मेलामै ग्याँस पड्किएर एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्