बुटवलवासीलाई रगतसम्बन्धी सबै सेवा निःशुल्क


appharu

१९ माघ २०७९, बिहीबार २०:१० मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनैपनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नुनपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताउनुभयो ।
समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्