सुशासन र संस्थागत मूल्यांकनमा बाणगंगा अब्बल


पालिका पत्र

२० फाल्गुन २०७९, शनिबार १४:३५ मा प्रकाशित

पालिका पत्र
कपिलबस्तु, २० फागुन ।

कपिलबस्तुका स्थानीय तहहरुको वित्तीय सुशासन जोखिम मूल्यांकन र स्थानीय तह संस्थागत मूल्यांकनमा बाणगंगा अब्बल देखिएको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा बिजयनगर गाउँपालिका दोस्रोमा रहेको छ । बाणगंगाले ७८.५ अंक प्राप्त गर्दा बिजयनगर गाउँपालिकाले ७२.५ अंक पाएको छ ।

जिल्ला समन्वय समिति, कपिलबस्तुका सूचना अधिकारी राजेश कुमार गुप्तका अनुसार आर्थिक वर्ष २०७८/०७९ को वित्तीय सुशासन जोखिम मूल्यांकनमा शुद्धोधन गाउँपालिकाले ६७.५ अंक पाएर तेस्रो भएको छ । जिल्ला समन्वय समिती कपिलबस्तुले शुक्रबार सार्वजनिक गरेको बिवरणमा महाराजगंज नगरपालिकाले ६६.५ र कपिलबस्तु नगरपालिकाले ६६ अंक पाएका छन् । बुद्धभूमि नगरपालिकाले ६५ र मायादेवी गाउँपालिकाले ६४.५ अंक पाएका छन् ।

शिवराज नगरपालिकाले ६२ अंक प्राप्त गर्दा कृष्णनगर नगरपालिकाले ५७ अंक प्राप्त गरेको छ । बित्तीय सुशासन जोखिम मूल्यांकनमा यशोधरा गाउँपालिका यहाँका पालिकाहरुमा कमजोर देखिएको छ । यशोधरा गाउँपालिकाले ४९ अंक प्राप्त गरि पुछारमा परेको छ ।

यशोधराले बित्तीय सुशासन जोखिम स्व–मूल्यांकनका लागि पालिकामा गर्नुपर्ने अनुशिक्षणदेखि पालिकाको तर्फबाट प्रारम्भिक नतिजा तयार, मूल्यांकनको मिति तय, प्रारम्भिक नतिजा तयार र जिल्ला समन्वय समितिबाट तयार प्रारम्भिक नतिजामा आफ्नो पृष्णपोषण थपसहितका क्रियाकलापका आधारमा जिससको अन्तिम नतिजामा यस्तो देखिएको जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले बताए ।

स्थानीय तहको बित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय बित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको बित्तीय सुशासनलाइ संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय सरकारले स्थानीय तह बित्तीय सुशासन मूल्याङकन कार्यविधि जारी गरेको छ ।

कार्यविधिको परिच्छेद ३ नं ४ को (१) बमोजिम बित्तीय सुशासन सम्वन्धी कार्यको मूल्यांकन सम्वन्धित जिल्ला समन्वय समितिमार्फत हुने व्यवस्था रहेको छ । कार्यविधि अनुसार कानुनी प्रकृयाको उल्लंघनको जोखिम दर्शाउने सूचकहरुको जोखिमको (प्रकृयाको जोखिम)अंकभार ५३ प्रतिशत हुने छ । यस्तै जनताको जीवनमा परिणाममुखी र सकारात्मक परिवर्तन नहुने गरी सार्वजनिक स्रोतको प्रयोग हुने जोखिमका सूचकहरुको अंकभार(नतिजाको जोखिम) १३ प्रतिशत हुने व्यवस्था रहेको छ ।

सार्वजनिक स्रोत, साधन र अधिकारलाइ निजी लाभका निम्ति उपयोग हुने सम्भावनाको जोखिमका क्षेत्रहरुको सूचक (बित्तीय अनुशासनको जोखिम)को अंकभार ३४ प्रतिशत रहने कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरि, यशोधरा र शुद्धोधन गाउँपालिका स्थानीय तह संस्थागत मूल्यांकनमा समेत कमजोर देखिएका छन् । यशोधरा र शुद्धोधन गाउँपालिकाले संस्थागत मूल्यांकनमा ५६.२५ बराबरी अंक प्राप्त गर्दै अन्य स्थानीय तह भन्दा कमजोर देखिएका हुन् ।

कपिलबस्तुमा रहेका १० वटा स्थानीय तह मध्ये बाणगंगा नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा पहिलो देखिन्छ । सार्वजनिक विवरणअनुसार, वित्तीय सुशासन जोखिम मूल्यांकनमा बाणगंगाले सबैभन्दा बढी ७८.५ अंक ल्याएर पहिलो भएको हो । आर्थिक वर्ष २०७८/०७९ को स्थानीय तह संस्थागत मूल्यांकनमा पनि बाणगंगा नगरपालिका ८२ अंक ल्याएर पहिलो भएको छ ।

वित्तीय सुशासन जोखिम मूल्यांकनमा ७२.५ अंक ल्याएको बिजयनगर संस्थागत मूल्यांकनमा ७४.७५ अंक ल्याएको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ७५.५ अंक प्राप्त गरेको छ ।

कपिलबस्तु नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ६५.५ अंक प्राप्त गरेको छ । कृष्णनगर नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ५८ अंक प्राप्त गर्दा महाराजगंज नगरपालिका स्थानीय तह संस्थागत मूल्यांकनमा ६८ अंक प्राप्त गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा महाराजगंज उत्कृष्ट भएको थियो । महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरि जिल्ला प्रथम बन्दा बित्तीय सुशासन र स्थानीय तह संस्थागत मूल्यांकनमा भने कमजोर देखिएको छ ।

मायादेवी गाउँपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ६० अंक प्राप्त गर्दा शिवराज नगरपालिकाले ६२.७५ अंक प्राप्त गरेको छ । शुद्धोधन र यशोधराले स्थानीय तह संस्थागत मूल्यांकनमा समान ५६.२५ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्