कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष विरुद्ध संघर्षमा उत्रिए राजनितिक दल


पालिका पत्र

२ चैत्र २०७९, बिहीबार १०:५२ मा प्रकाशित


कपिलवस्तु, ०२ चैत्र ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीका विरुद्ध निर्णायक संघर्षमा उत्रिएको राजनीतिक दलहरुले घोषणा गरेका छन् ।

गाउँपालिकाको दैनिक तथा प्रशासनिक क्षेत्रमा देखा परेको नैतिक, सैद्धान्तिक र आर्थिक भष्ट्राचार, अनियमितता विरुद्ध संयुक्त संघर्ष अपरिहार्य भएको दाबी गर्दै राजनीतिक दलहरु निर्णायक संघर्षमा उत्रिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका सचिव हजरत अली, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि अनुप कुमार पाण्डेको विषेश उपस्थितिमा बुधबार पालिका विरुद्ध एक संघर्ष समितिको घोषणा गरिएको छ ।

संघर्ष समितिमा नेपाली कांग्रेसका पालिका सभापति जगदीश पाण्डे, नेकपा (माओवादी केन्द्र) का पालिका अध्यक्ष शिवपुजन पासी, नेकपा (एकीकृत समाजवादी) का नेता हविवुल्लाह खान, जसपाका प्रतिनिधि कमलेश कुमार यादव र माओवादी केन्द्रका पालिका उपाध्यक्ष कृष्ण कुमार मिश्रा रहेका छन् । नेकपा एमाले बाहेक दलहरुले पालिका विरुद्ध संघर्ष गर्ने एक सूचना सार्वजनिक गरेका हुन् । पालिका अध्यक्ष तिवारी एमालेबाट निर्वाचित भएका हुन् । पालिकाका जनप्रतिधिमा एमालेको वर्चश्व छ ।

प्रतिक्रिया दिनुहोस्