सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमुखी  बनाउँदै ‘शिवराज नगर’


२३ चैत्र २०७९, बिहीबार १९:१२ मा प्रकाशित

२३ चैत्र । सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमुखी बनाउने नौलो अभ्यासलाई कपिलवस्तुको शिवराज नगरपालिकाले अवलम्बन गरेको छ । सेवा प्रवाहलाई नागरिकमैत्री एवं सेवाग्राहीमुखी बनाउनका लागि नगरमा नागरिक सेवा प्रवाह केन्द्र संचालन गरेको छ ।

लुम्बिनी प्रदेशमै पहिलो पटक कपिलवस्तुको शिवराज नगरपालिकाले नागरिक सेवा प्रवाह केन्द्र संचालन गरेको छ । नगरवासीलाई छिटो-छरितो र एकद्वार प्रणालीबाट सेवा दिन केन्द्र संचालनमा ल्याइएको हो । नगरपालिकाले आम नागरिकको सहजताका लागि सेवा प्रवाह केन्द्र संचालन गरेको जनाइएको छ।

यसअघि यो सेवा मुलुकका अन्य ४ पालिकाले मात्र संचालन गर्दै आएको छ। शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले नगरवासीहरूसँग गरेको प्रतिबद्धता अनुसार जनतालाई प्रभावकारी सेवा दिन केन्द्र संचालनमा ल्याइएको बताए ।

‘जनतालाई फाइल लिएर फाट फाटमा दर्गुनु पर्ने बाध्यताबाट मुक्त गराउन केन्द्र संचालनमा ल्याएका हौ’ उनले भने । यो सेवा संचालन गर्नु अघि नगरपालिकामा एक महिना सम्म यसबारे परीक्षण गरी हेरेको उनले बताए ।

प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले रिबन काटेर सेवाको शुभारम्भ गरे । सो अवसरमा मन्त्री यादवले शिवराज नगरपालिकाले नमुना र उदाहरणीय काम गरेको बताए । उनले जनतालाई लक्षित गरी ल्याइएको यो सेवालाई सही ढंगले संचालन गर्न आग्रह समेत गरे । ‘यो सेवालाई प्रभावकारी रुपमा संचालन गर्न जरुरी छ’ उनले भने।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले एकै ठाउँमा बसेर सेवाग्राहीलाई सेवा दिन केन्द्र संचालन गरिएको बताए । नगरपालिकामा आउने सेवाग्राहीले कामको प्रकृति अनुसार केन्द्रमा फाइल वा निवेदन पेस गर्नु पर्ने हुन्छ । त्यही केन्द्रबाटै फाइल कार्यालयकै कर्मचारीले सम्बन्धित फाटमा पुर्याउछन । सेवापछि कर्मचारीले नै आवश्यक कागजात सेवाग्राहीलाई दिन्छन् ।

प्राविधिक, न्यायिक समितिको काममा भने केही दिन लाग्नेछ । जटिल प्रकृतिको सेवाका लागि भने सेवाग्राहीलाई लाग्ने समयबारे पूर्व जानकारी गराइने उनले बताए । यो सेवा शुभारम्भ गर्नु अघि नगरपालिकालाई यस सेवा संचालन गरेका पालिकाहरूमा स्थलगत अनुगमन गराइएको प्रमुख पाण्डे बताउँछन् ।

सेवाग्राहीको सेवालाई ध्यान दिई फोटो कपी, निवेदन लेख्ने प्रबन्ध समेत नगरपालिकाले गरेको छ । सेवा सुरु भएसँगै शिवराज नगरपालिकामा फाइल लिएर शाखा शाखामा पुग्नुपर्ने बाध्यता हटेको प्रति नगरवासी खुसी भएका छन् । काम सम्पन्न नहुन्जेल बस्नको लागि सेवा केन्द्रमा एसी र टिभी सहितको आरामदायी कुर्सीहरूको व्यवस्थापन गरिएको छ। केन्द्रमा चियाको पारखीहरूको लागि चिया र तातो चिसो पानीको समेत व्यवस्थापन गरिएको छ।

सेवालाई प्रभावकारी बनाउन अधिकृत लक्ष्मी कँडेललाई त्यही खटाइएको छ भने प्रमुख प्रशासकीय अधिकृत समेत त्यही केन्द्रमा आएर आवश्यक निरीक्षण र काम गर्ने छन् ।

यसैबिच नगरपालिकामा महिलाहरुलाई लक्षित गरी स्तनपान कक्ष समेत संचालन गरिएको छ। कक्षको मन्त्री जानकी प्रसाद यादवले उद्घाटन गरेका हुन् । सेतागुराँस संस्थाले स्तनपान कक्ष सञ्चालनका लागि आवश्यक समन्वय गरेकाले पनि सेवाग्राही तथा कर्मचारीलाई सहजता पैदा हुने संस्थाकी अनिता शर्माको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार केसी, उपप्रमुख शिवकुमारी चौधरी लगायतको सहभागिता रहेको थियो ।

हेर्नुहोस् थप तस्विरहरु:

प्रतिक्रिया दिनुहोस्