सासु कार्यक्रमले ग्रील व्यवसायी र मजदुरलाई मिल्यो ठूलो राहत

सासु कार्यक्रममा आवद्ध हुन एक दिनको ६ रुपैयाका दरले शुरुमा एक पटक २ हजार र नवीकरण गर्न एक दिनको ३ रुपैयांका दरले वार्षिक एक हजार मात्रै लाग्ने सासु कार्यक्रम संयोजक विनय खनालले बताए ।


पालिका पत्र

७ बैशाख २०८०, बिहीबार २१:३३ मा प्रकाशित

पालिकापत्र, बुटवल । ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले शुरु गरेको सामाजिक सुरक्षा सासु कार्यक्रमले उद्योगी र कामदार दुबैलाई समस्या पर्दा ठूलो राहत दिलाएको छ । उद्योगी र मजदुरलाई राहत दिन संघले हिमालय एभरेष्ट इन्स्योरेन्सलाई एकमुष्ट रकम तिरेर वीमा गरेपछि कामको सिलसिलामा घाइते वा मृत्यु हुंदा व्यवसायी र मजदुरले राहत पाउने गरेका छन् ।
संघले हालै मात्र बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारलाई ७ लाख रुपैयां राहत दिलाएको छ ।
संघले एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयांको चेक दिएको हो । उक्त रकम हिमालय एभरेष्ट इन्स्योरेन्सका मार्केटिङ म्यानेजर सन्दिप खनालले संघलाई प्रदान गरेपछि संघले मृतक थारुकी श्रीमतीलाई दिएको हो ।
राहत वापतको चेक पाएपछि निशाले दुखको बेला ठूलो राहत मिलेको बताइन् ।

बुटवल इन्जिनियरिङ वक्र्सका संचालक महेन्द्र कार्कीले सासु कार्यक्रमले गर्दा आफूलाई समेत ठूलो राहत महसुस भएको बताए ।
‘मेरो उद्योगको काम गर्दा मेरो मजदुरको मृत्यु भयो,यस्तो अवस्थामा म एक्लैले ठूलो रकम दिन सक्ने अवस्था थिएन तर सासु कार्यक्रमले दियो जसले मजदुरको परिवारलाई मात्र हैन मलाई पनि राहत महसुस भएको छ’–कार्कीले भने–‘सबै व्यवसायी यो कार्यक्रममा आवद्ध हुने हो भने भवितब्य दुर्घटना हुंदा उद्योगी र मजदुर दुबैलाई राहत हुन्छ ।’
संघका सदस्य व्यवसायी सासु कार्यक्रममा आवद्ध भएमा त्यहां काम गर्ने कामदार मजदुरले स्वतः राहत पाउंछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन ।
सासु कार्यक्रम शुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्युनतम १० हजारदेखि ७५ हजारसम्म र कामको सिलसिलामा मृत्यु भएमा ७ लाख रुपैयांसम्म राहत रकम दिने गरेको बताए ।
कोरोनाको समयमा मृत्यु भएका तिलोत्तमाका व्यवसायी नारायण चौधरीको परिवारलाई २ लाख रुपैयां राहत दिएको निवर्तमान अध्यक्ष सारुले बताए ।
संघका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा संघमा आवद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आवद्ध गराई व्यवसायी र मजदुर दुबैलाई भवितब्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताए ।
सासु कार्यक्रममा आवद्ध हुन एक दिनको ६ रुपैयाका दरले शुरुमा एक पटक २ हजार र नवीकरण गर्न एक दिनको ३ रुपैयांका दरले वार्षिक एक हजार मात्रै लाग्ने सासु कार्यक्रम संयोजक विनय खनालले बताए । ‘व्यवसायी सासु कार्यक्रममा आवद्ध भएपछि उक्त व्यवसायीका कामदारले स्वतः राहत पाउंछन्’ –संयोजक खनालले भने–‘संघको पहलमा हिमालय एभरेष्ट इन्स्योरेन्सले दुर्घटना वा मृत्यु हुंदा वीमा रकम उपलब्ध गराउंछ ।’

सासु कार्यक्रममा आवद्ध हुने व्यवसायीलाई संघले हेल्मेट,पन्जा लगायत दुई हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताए ।
संघले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उनले बताए ।
संघका संस्थापक अध्यक्ष अशोक वर्माले संघले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरु व्यवसायिक संस्थाले पनि लागु गर्नुपर्ने अनुकरणीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्