पाल्पाको रामपुर नगरपालिकामा ‘लिफ्टिङ’ गरेर पानी ल्याइँदै


पालिका पत्र

१८ बैशाख २०८०, सोमबार १९:२६ मा प्रकाशित

पाल्पा, १८ वैशाख । पाल्पाको रामपुर नगरपालिका ८ मा खानेपानी पुर्‍याउन ‘लिफ्टिङ’ पद्धतिमार्फत काम भइरहेको छ। स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टोल बस्तीमा खानेपानी पुर्‍याउन काम लिफ्टिङ जडानको काम भइरहेको हो।

कालीगण्डकी नदी पारी चापाकोट नगरपालिका–९ स्थित नदीको किनार फतरामुलको पानी व्यवस्थापन गरी पाल्पा रामपुर ल्याउन लागिएको हो। सिद्धबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निसर्दी खानेपानी तथा उपभोक्ता समितिले कालीगण्डकी पारी रहेको मूलमा बाँध बाँधेर रामपुरतर्फ पानी ल्याउने कार्य भइरहेको जनाएको छ।

रामपुर–८ स्थित निसर्दी, भुजात र बटम्मा गरी ‘एक घर एक धारा’ अन्तर्गत तीन टोलमा २७६ घरधुरीका स्थानीयलाई शुद्ध, सफा र स्वच्छ पिउने पानी वितरण गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा २०७६ मा आयोजनाको काम सुरुआत भएको थियो।

आयोजना सम्पन्न गर्नका लागि अनुमानित तीन करोड ३६ लाख रकम लाग्ने जनाइएको छ। यहाँ २०७८ मा आयोजनाका काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने भनिए तापनि पाल्पामा प्रदेशका योजना धेरै सञ्चालनमा रहेकाले समयमा नै बजेट नआउँदा लम्बिन पुगेको हो।

आयोजनाका लागि चापाकोट–९ का स्थानीय खिमाकुमारी भण्डारीसँग तीन आना जग्गा दुई लाखमा उपभोक्ता समितिले किनेर काम थालनी गरिएको छ। मूलमा बाँध बाँध्ने काम सकिएको छ भने कालीगण्डकी नदी माथिबाट पोलिपाइप तानेर ल्याउने काम बाँकी छ। यसको तयारी भइरहेको छ। कालीगण्डकी नदी पारी रहेको मुहान करिब ३०० मिटर दूरीबाट पोलिपाइपमार्फत झोलुङ्गे पुलजस्तो गरी बाँधेर पानी रामपुरतर्फ ल्याइँदैछ।

हालसम्म आयोजनाअन्तर्गत निसर्दीटोलको लागि तारबारसहितको ५० घनमिटरको रिजर्भ ट्यांकी ९मुख्य ट्यांकीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार०, भुजातटोलको लागि १०० घनमिटरको ट्यांकी निर्माण ९मुख्य ट्यांकीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार०, बटम्माटोलको पैतीस घनमिटरको ट्यांकी, पानी वितरण गर्ने एकवटा डिसी, मेनलाइनको काम सम्पन्न, भुजात पिपलपाटा सामुदायिक वन क्षेत्र कालीगण्डकी नदीको किनारमा १५० घनमिटरको मूल ट्यांकी निर्माण गर्ने काम सकिएको छ।

आयोजनाअन्तर्गत विद्युत् बिस्तार, बटम्माटोलको मेनलाइन, ट्यांकीबाट घर–घरमा पाइप बिच्छ्याउने काम बाँकी छ। अबको एकवर्ष भित्रमा घर–घरमा पानी वितरण गरेर सफा र शुद्ध खानेपानी उपभोक्तामाझ पुर् याउने योजनाअनुसार तीव्र गतिमा काम अगाडि बढेको निसर्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष त्रिलोचन अधिकारीले जानकारी दिए।

‘अहिले यहाँका स्थानीयले पुरानै खोला मूलको पानीबाट जीविका चलाउन बाध्य छन्, सफा र स्वच्छ पानी उपभोग गर्न पाइएको छैन’, उनले भने, ‘दिगो र भरपर्दो पानीको स्रोत नहुँदा वर्षौँदेखिका यहाँका स्थानीयले खानेपानी उपभोगमा समस्या भोगिरहेका छन्।’

टिकाउ र वैकल्पिक पानीको लागि लिफ्टिङ प्रणालीमार्फत सुरु भएको योजना सम्पन्न भई घर–घरमा पानी वितरण भएपछि स्थानीयलाई पानी खोजेर खाने समस्या समाधान हुनेछ। लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले ‘एक घर एक धारा’ खानेपानी वितरण गर्ने लक्ष्यका साथ लिफ्टिङ प्रणालीमार्फत पाल्पाका विभिन्न गाउँ–गाउँमा योजनाका काम अगाडि बढिरहेको बताए।

निसर्दी, भुजात र बटम्मा टोलका स्थानीयलाई आफ्नै क्षेत्रमा पानीको स्रोत नहुँदा अप्ठ्यारोमा परिरहेका थिए। लिफ्टिङ गरेर खानेपानी उपभोग गर्ने स्थानीयको सपना अब पूरा हुँदैछ। चापाकोट क्षेत्रमा कालीगण्डकी नदी किनारसँग जोडिएका पहाडका बीच भागमा प्रशस्त बाह्रै महिना उपभोग गर्न मिल्ने पानी छ।

चापाकोट क्षेत्रका स्थानीय सरकार तथा स्थानीयवासीको समन्वयपश्चात् रामपुरतर्फ पानी ल्याउने योजना अगाडि बढेको हो। यसले स्थानीयलाई राहत पुग्नेछ। पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट क्षेत्रलाई कालीगण्डकी नदीले छुट्याएको छ। नदी वारीपारी रहेका यी क्षेत्र जिल्ला र स्थानीय तह मात्र नभई फरक–फरक प्रदेशमा विभाजित छन्। रासस

प्रतिक्रिया दिनुहोस्