बिपतको पुर्व तयारी, जगदिशपुरमा जलउद्धार नमुना अभ्यास


पालिका पत्र

८ जेष्ठ २०८०, सोमबार ०९:०८ मा प्रकाशित

कपिलवस्तु, ०८ जेठ । कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदिशपुर तालमा जल उद्धार नमुना अभ्यास सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको आयोजनामा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो । नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाइ कसरी जिवितै उद्धार गर्ने, उद्धार पश्चातको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामुलक क्रियाकलाप गरिएको थियो ।

बिपत व्यवस्थापनमा खटदै आएका गणका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा ४५ जनाको टोली, नेपाली सेना शम्शेर दल गण गोरुसिंगेका सह–सेनानी अमृत तामाङ्गको नेतृत्वको १० जनाको टोली र कपिलवस्तु प्रहरीबाट प्रहरी नायब निरिक्षक मोहमद ताकी खाँ नेतृत्वको ७ जनाको संयुक्त टोलीले विपद् प्रकोप उद्धार सम्बन्धि कृत्रिम घटना अभ्यास गराएको थियो । अभ्यासमा स्वास्थ्य सम्बन्धि सेवा प्रवाहका लागी कपिलवस्तु अस्पतालका डाक्टर अमुल्य कुमार पाठकको टोली खटेको थियो । उद्धारका नमुना अभ्यासका क्रममा कपिलवस्तु अस्पतालको एम्बुलेन्स सहित प्राथमिक उपचारको टोली तयारी अवस्थामा राखिएको थियो ।

नमुना अभ्यासले बिपतका बेला जल उद्धारका बेला अपनाउनु पर्ने सचेतना बारे स्थानियलाई समेत सचेतना प्रवाह भएको अभ्यास अवलोकन गर्न पुगेका कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । नेपाल सबै खाले बिपतको हिसाबले उच्च स्थानमा रहेको र बाढीजन्य बिपतको हिसाबले बिसौं स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले जानकारी दिए । बाढीका बेला हुने डुवान र धनजनको क्षति हुने अवस्थामा नागरिकको तत्कालै उद्धार गर्ने र सामाग्री सुरक्षित स्थानमा ल्याउने उद्धेश्यले पुर्व तयारीका लागी अभ्यास गरिएको उनले प्रष्ट पारे । “बिपतको उद्धार गर्दाको क्षमता परिक्षण र राम्रो पुर्व तयारीका लागी सबै सुरक्षा निकाय सँग समन्वय गरेर अभ्यास गराएका हौं” उपरिक्षक केसीले भने । अभ्यासको उपरिक्षक केसी, नगर प्रमुख पौडेल र प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत सहित स्थानियले अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्