कपिलवस्तुमा सात वटा भारतीय गाडी नियन्त्रणमा


पालिका पत्र

८ जेष्ठ २०८०, सोमबार १८:३३ मा प्रकाशित


कपिलवस्तु, ०८ जेठ ।
कपिलवस्तुको सुठौली भन्सारबाट आएको सात भारतीय माल बाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्ला.इएस (सिमेन्टको कच्चा पदार्थ) बोकेका ७ भारतीय मालवाहक साधनलाई नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयको आफ्नै धर्म काटा नभए पछि सो सवारी साधन यशोधरा गाउँपालिका– ५ बैदौली स्थित हासिल धर्म काटामा तौल गराउने गर्छ । सो धर्म काटामा ७ वटा गाडीको फ्लाइएस बोकेको गाडीको तौल २ लाख ५० हजार ५ सय केजी तौल गरी भन्सारले प्रज्ञापन पत्र बनाएर गाडी नेपाल भित्राइएको थियो ।

तौलिहवामा प्रहरीले शङ्का लागी युपी ७० जीटी १९६२, युपी ६४ एटी २४२५, युपी ६४ एटी २४२८, युपी ६४ एटी २४२७, युपी ४३ एटी ६३६४, युपी ४३ एटी ६३६५ र युपी ४३ एटी ७४११ नम्बरको गाडीलाई रोकेर सोही हासिल धर्म काटामा लगेर तौल गराइएको थियो । त्यही धर्म काटामा त्यही मालवाहक साधनलाई तौल गराउँदा २ लाख ६८ हजार ५९५ केजी तौल देखिएको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।

प्रज्ञापन पत्र भन्दा १८ हजार ९५ केजी बढी तौल देखिएको हो । ‘त्यस्ता मालवाहक सवारी साधनले प्रज्ञापन पत्र भन्दा बढी सामान ल्याउने गरेको गुनासो आएको थियो, त्यही आधारमा तौल गर्दा प्रज्ञापन पत्र भन्दा १८ हजार किलो बढी देखिएको थियो’ प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले भन्नुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको मालवाहक साधनलाई आवश्यक कारबाहीका लागि बुटवल स्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ ।

सूठौली भन्सारको अझै सम्म आफ्नो धर्म काटा छैन । जसले गर्दा भन्सार नजिकै रहेको धर्म काटामा तौल गराइने गरिएको छ । यो नाकामा फ्लाइएस मात्र होइन अन्य मालक सामान ल्याउँदा पनि भन्सार कर्मचारीको मिलेमतोमा प्रज्ञापन पत्र भन्दा बढी सामानहरू भित्राइने गरेका व्यापारीहरू बताउँछन् । ‘एउटै धर्म काटामा भन्सारले गरेको तौल र प्रहरीले गरेको तौलमा कसरी फरक आउँछ ’ एक व्यापारीले भन्नुभयो ‘यसमा सरासर मिलेमतो देखिन्छ ।’

सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीले ७ वटा गाडीको तौलमा त्यत्ति फरक आउनु सामान्य कुरा रहेको दाबी गर्नुभयो । हावाको प्रेसर डिजेल, पाइप लगायतका कारण एउटा गाडीमा १ हजार देखि २ हजार केजी सम्म फरक आउन सक्ने उहाँको दाबी छ । फ्लाइएसको भन्सार शुल्क प्रति टन १ हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्