गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका दुई पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय


पालिका पत्र

१९ जेष्ठ २०८०, शुक्रबार १८:४० मा प्रकाशित

कपिलवस्तु, जेठ १९ । कपिलवस्तुका दुई स्थानीय तहले आफ्ना नगरभित्रका सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा बिदा दिएको छ । पछिल्लो केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण जिल्लाका बाणगंगा र कपिलवस्तु नगरपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो ।

बाणगंगा नगरपालिकाले अत्याधिक गर्मी बढेसँगै ६ दिनका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सी.ले बताए । केहीदिन यता कपिलवस्तुको तापमान उच्च तहमा पुगेसँगै विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई विद्यालय समयमा हुने अध्ययनमा समस्या देखिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमूख खिमबहादुर जिसीका अनुसार शुक्रबार बिहान बसेको प्रधानाध्यापकहरुको बैठकले आउँदो सोमबार (जेठ २२ गते) देखि आइतबार (जेठ २८ गते) सम्मका लागि ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

नगरपालिकामा संचालित सामुदायिक र संस्थागत सबै खाले विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकले नगरको शैक्षिक वर्ष २०८० को क्यालेण्डरमा रहेको गर्मी बिदा आश्यकता अनुसार दिने व्यवस्था भए अनुसार अहिले दैनिक बढिरहेको गर्मीको समयलाई मध्यनजर गरी यो विदाको निर्णय गरेको नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सुचना अनुसार जेठ २९ गते देखि भने विद्यालय नियमित हुने समेत जनाइएको छ । नगरपालिकाले प्रधानाध्यापकहरुको संयुक्त बैठकको यो निर्णयलाई कार्यान्वयन गर्न समेत सबै विद्यालयहरुलाई आग्रह समेत गरेको छ ।

यसैगरि, कपिलवस्तु नगरपालिकाले पनि गर्मी बिदा दिएको छ । तराई क्षेत्रमा केहि दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण बिद्यालयमा पठनपाठन क्रियाकलाप संचालन गर्न कठिनाई उत्पन्न भएको भन्दै नगरभित्रका सबै बिद्यालयमा बिदा दिएको जनाएको छ ।

शुक्रबार नगरशिक्षा समितीको बैठकको निर्णयानुसार जेठ २२ देखि २६ गतेसम्म सम्पुर्ण बिद्यालयमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकिय अधिृकत गणेश अर्यालले जनाए ।

प्रतिक्रिया दिनुहोस्