कपिलवस्तुमा ५ हजारले नयाँ नागरिकता पाउँदै….

सातवटा स्थानीय तहका प्रतिनिधिसँग मंगलबार छलफल गर्ने तयारी


पालिका पत्र

२१ जेष्ठ २०८०, आईतवार १७:५४ मा प्रकाशित


पालिका पत्र, जेठ २१ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नयाँ नागरिकताका लागि पुर्व तयारी थालेको छ । प्रशासन कार्यालयले कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण कार्यका लागि पुर्व तयारी थालेको हो ।


नयाँ नागरिकता वितरणका लागि कपिलवस्तुका सात वटा स्थानिय तहवाट सुरु गरिने प्रमुख जिल्ला अधिकारी शंकर हरि अचार्यले बताए । ‘अभिलेखहरू हेर्ने, वडाहरूसम्म व्यवस्थापन मिलाउने काममा हामी लागेका छौं,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘पूर्व तयारी सकिएपछि नागरिकता वितरण सुरू हुनेछ।’


आचार्यले भने “कर्मचारी व्यवस्थापन तथा प्रविधिक कार्यका लागि अहिले हामि गृहकार्य गरिरहेका छौं ।” प्रजिअका अनुसार मंगलवार सम्बन्धित स्थानिय तहका प्रमुख, उप–प्रमुख प्रमुख प्रशासकीय अधिकृतहरूसँग र वडा अध्यक्ष संग बैठक आयोजना गर्न लागिएको बताए ।


‘यहाँ ६ हजार हाराहारीको संख्या छ, त्यसैले स्थानीय तहसहितका प्रमुखहरूसँग छलफल गरेर सेड्युल मिलाउने तयारीमा छौं,’ उनले भने, ‘एकैपटक आउने अवस्था सिर्जना भए व्यवस्थापन गर्न सकस हुन्छ भनेर हामीले व्यवस्थापनको उपाय खोज्दैछौं।’ उनका अनुसार जिल्लामा करिव ५ हजारले हजार हाराहारी संख्याका नागरिकले नागरिकता लिने अनुमान छ ।


कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकामा नागरिकता वितरण हुने प्रजिअ आचार्यले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो । शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो ।


राजपत्रमा सूचना प्रकाशित भइसकेर गृहले परिपत्र गरिसक्दा पनि नागरिकता वितरणमा ढिलाइ भएकोबारे सोध्दा उनले थपे, ‘धेरै संख्या भएका कारण व्यवस्थापन मिलाउनै पर्छ । अन्यथा सिमित जनशक्तिबाट काम हुन गाह्रो हुन्छ । त्यसैले पालिकाहरूसँग सल्लाह गरेर सोही अनुसार नागरिकता वितरणको तयारी गरिएको हो ।’


राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।


नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् ।


त्यस्तै, गैरआवासीय नेपालीले राजनीतिक बाहेकका अधिकार प्राप्ति गर्नका लागि पनि नागरिकता पाउँने छन् । नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउँने छन् ।

प्रतिक्रिया दिनुहोस्