तराईको उखरमाउलो गर्मी : जनजीवन अस्तब्यस्त

शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर, पाँचदिने गर्मी बिदा


२१ जेष्ठ २०८०, आईतवार १८:०४ मा प्रकाशित

कपिलवस्तु, जेठ २१ । तराई–मधेशको उखरमाउलो गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके लगायतका मध्यतराईका जिल्लाहरुमा विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेको छ ।

पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूर समेत प्रभावित भएका छन् ।

गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् ।

जेठको दोस्रो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

लुम्बिनी प्रदेश अन्र्तगत तराई क्षेत्रमा पर्ने ६ वटा जिल्लाका पश्चिम नवलपरासीदेखि बर्दिया सम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढ्दा शैक्षिक क्षेत्र सबैभन्दा बढि प्रभावित देखिएको छ । त्यसैले यी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहले बर्खामा दिइने बिदामा मिलान गर्ने गरी धमाधम विद्यालय बिदा दिइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएका ठाउँमा तातो हावा अर्थात लू लाग्ने खतरा रहेको भन्दै सावधानी अपनाउन सुझाएको छ ।

कपिलवस्तुका अधिकांश पालिकाले विद्यालय बिदा दिएका छन् । मायादेवी गाउँपालिकाले जेठ २२ गतेदेखि २६ गतेसम्म बिदा दिएको छ । पालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेले अत्यधिक गर्मीले बालबालिकालाई समस्या भएपछि बिदा दिएको जानकारी दिए । उनले भने ‘असाध्यै गर्मी छ । बालबालिकालाई गाह्रो भएकोले वर्षे बिदामा मिलान हुनेगरी बिदा दिइएको छ ।’

जिल्लाकै अर्को कृष्णनगर नगरपालिकाले पनि २२ गतेदेखि २६ गतेसम्म बिदा दिएको छ । अत्यधिक गर्मी र मौषम पूर्वानुमान अनुसार लु लाग्ने सम्भावना बढेकाले यो निर्णय गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकर भट्टराईले बताए । पालिका भित्रका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरु तथा बाल बिकास केन्द्रहरु सबै शैक्षिक संस्थाहरुमा बिदा दिइएको उनले बताए ।

शिवराज नगरपालिकाले पनि जेठ २१ गतेदेखि २६ गतेसम्म गर्मी बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले भने ‘गर्मी धेरै छ । बालबालिका स्कूल आउँदा बाटोमा नै बेहोस हुने अवस्था आएपछि ५ दिनको बिदा दिइएको छ ।’

जेठ २२ गतेदेखि २६ गतेसम्म बिदा दिएको शुद्धोधन गाउँपालिकाले गाउँ शिक्षा समितीको आइतबार बसेको बैठकले पालिका भित्रका सबै शैक्षिक संस्थामा गर्मी बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले जनाए ।

बुद्धभूमि नगरपालिकाले पनि आइतबार एक बिज्ञप्ती जारी गर्दै जेठ २२ देखि २६ गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिृकत ध्रुवप्रसाद नेपालले जनाए ।

पछिल्लो सातादेखि बढेको उखरमाउलो गर्मीका कारण कपिलवस्तुको बाणगंगा, कपिलवस्तु नगरपालिकामा पनि विद्यालयमा गर्मी बिदा दिएको छ । यो समाचार तयार पार्दा सम्म गर्मी बिदाका बिषयमा जिल्लाका यशोधरा र बिजयनगर गाउँपालिकाले कुनै सूचना जारी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्