कपिलवस्तु प्रशासनको चेतावनी : ‘कर्मचारी आचरणमा रहेर काम गर्नुस्’


पालिका पत्र

२४ जेष्ठ २०८०, बुधबार १४:२३ मा प्रकाशित

कपिलवस्तु, जेठ २४ । नेपालमा चर्चित सामाजिक सञ्जालका रुपमा टिकटक प्रयोगकर्तामा आएको बृद्धिसँगै यसको दुरूपयोग पनि बढ्दै गएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भईरहेको सरकारको ठहर छ ।

केही पात्रहरुका कारण सिंगो कर्मचारी संगठन प्रति सेवाग्राहीको नकारात्मक दृष्टिकोण मौलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई गत जेठ १९ गते एउटा निर्देशन जारी गर्यो । उक्त निर्देशनअनुसार केही वरिष्ठ अधिकारीहरुको अनुपयुक्त, अव्यवहारिक गतिविधि तथा पदको महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृृङ्खल किसिमका भिडियो पोष्ट गर्ने गरेको भन्ने जनगुनासो निरन्तर आइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई मन्त्रालयले कडा निर्देशन दियो ।

प्रशासन र अन्र्तगतका निकायहरुमा कार्यरत सबै कर्मचारीहरुले अनिवार्य पालना गर्ने÷गराउने गरी कार्यान्वयन गर्नु गराउनुहुन आदेश भई आएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका सबै सरकारी कार्यालय र सबै स्थानीय तहलाई कर्मचारी आचरण पालना गर्ने/गराउने सम्बन्धी ७ बुँदे चेतावनी समेत प्रशासनले जारी गरेको छ ।

जारी गरिएको पत्रमा, कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न आदेश दिइएको छ । यस्तै, सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरिएको छ ।

कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारवाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जाल मार्फत सेयर नगर्ने/नगराउने साथै कार्यालयको काम कारवाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार प्रसार र जस लिने आसयले नगर्ने सम्बन्धी पनि निर्देशन जारी गरिएको छ ।

जारी गरिएको पत्रमा थप भनिएको छ, आफ्नो नियमित कर्तव्य भित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालहरुमा समेत नराख्ने चेतावनी दिइएको छ । सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीहरुले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरिएको छ ।

निर्देशनुसार, यी ७ वटा बुँदाहरु कार्यान्वयन भए/नभएको सम्बन्धमा मन्त्रालयबाट समेत सुक्ष्म अध्ययन एंव अनुगमन हुने जानकारी आएको प्रशासकीय अधिकृत निर्मल पोखेलद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्