लुम्बिनी प्रदेशः नीति तथा कार्यक्रम ल्याउँदै

नीति, कार्यक्रममा कृषि तथा रोजगारीलाई प्रथामिकतामा राख्ने


पालिका पत्र

२६ जेष्ठ २०८०, शुक्रबार ११:३८ मा प्रकाशित

पालिका पत्र, जेठ २६।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउंंदैछ । दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।


असार १ गते आगामी वर्षको बजेट ल्याउन लागेको सरकारले त्यसअघि सरकारका प्राथमिकता समेटेर नीति, कार्यक्रम ल्याउन लागेको हो । नीति, कार्यक्रममा समावेश भएका योजना, सरकारको प्राथमिकतालाई ध्यान दिंदै बजेट ल्याइने छ । नीति, कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएपछि त्यसपछि सांसदहरुले छलफलमा भाग लिनेछन ।


नीति, कार्यक्रम प्रदेशसभामा छलफल पछि पास गरेर सरकारले बजेट ल्याउने छ । सरकारको नीति, कार्यक्रममा कृषि तथा रोजगारीलाई प्रथामिकतामा राख्ने बताइएको छ ।


यस्तै, प्रदेशका गौरवका आयोजनालाई पनि प्राथमिकीकरण गरिएको छ । पर्यटन र शिक्षालाई पनि सरकारले प्राथमिकतामा राख्ने बताइएको छ ।


प्रदेश सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले आमजनताको मनोभावनालाई बुझेर, जनजीविकालाई प्रत्यक्ष प्रभाव पार्ने गरी नीति, कार्यक्रम ल्याउन लागेको बताए ।


सरकारले आगामी वर्षको नीति कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धीमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कृषिमा केन्द्रित गरेर मुख्यमन्त्री शंकर पोखरेलले कृषि स्मार्ट कार्यक्रम ल्याएका थिए । जुन कार्यक्रम अहिले पनि निरन्तर छ ।


त्यसलाई यो सरकारले पनि निरन्तरता दिनेछ । त्यस्तै अघिल्लो सरकारले खानेपानीको क्षेत्रमा लगानी गर्ने गरी ल्याएको एक घर, एक धारा कार्यक्रमले पनि निरन्तरता पाउने सम्भावना छ ।


मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकारले जनतामा उपलब्धि देखिने पुराना सबै कार्यक्रमलाई निरन्तरता दिने र बांकी रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम र योजना तयारी गरिरहेको बताए । उनले सीप विकास, आत्मनिर्भर जनता, उपयोगमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्