बाल श्रम उन्मुलन गर्न अभियान थालौंः मेयर श्रेष्ठ


पालिका पत्र

२९ जेष्ठ २०८०, सोमबार २२:०१ मा प्रकाशित


कपिलवस्तु, जेठ २९ ।
बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बाल श्रम उन्मुलन गर्न अभियान नै थाल्नु पर्ने बताएका छन् । बाल श्रम विरुद्धको विश्व दिवसको अवसरमा ‘बाल श्रम मुक्त गर्न सफल ईट्टा उद्योगलाई सम्मान’ कार्यक्रमलाई संम्बोधन गर्दै मेयर श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले बुद्धभूमि नगरपालिकाबाट बाल श्रम विरुद्धका अभियान थाल्न आफुले निती तथा कार्यक्रम ल्याउने बताए । बाल श्रम न्युनिकरण गर्न स्पष्ट नीतिका साथ अगाडी बढ्नुपर्ने उनको भनाई छ । उनले मुलुकमा बाल श्रम उन्मुलन गर्न आर्थिक कुरा जोडिएको भन्दै बाल श्रम रहेका परिवारको आर्थिक श्रोतहरुलाई फराकिलो बनाउँन आवश्यक रहेको बताए ।

उनले भने “आज बाल श्रम दिवस, दिवसका लागिमात्र नभएर सदैव बाल श्रमीक उन्मुलन गर्न नगरपालिका सदैव तयार छ ।” बाल श्रम ईट्टा उद्योगमा मात्र नभएर जताकतै बाट उन्मुलन गर्नु आवश्यक रहेको मेयर श्रेष्ठले बताए । उनले अब श्रमिक र बालबालिकाहरुको हकहितको लागी काम गर्न आवश्यक रहेको बताउँदै नागरिकहरुको सुरक्षाको लागी जिम्मेवार भएर काम गर्न आफु सधै लाग्ने बताए ।

बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य बाल श्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । प्रत्येक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यस दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्