गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नेपाल एयरलाइन्सको नियमित उडान


पालिका पत्र

३० जेष्ठ २०८०, मंगलवार १८:१८ मा प्रकाशित

लुम्बिनी, जेठ ३० । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलबार) देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ ।​

मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमबार काठमाडौँबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलबार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट दिल्ली उडानका लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताए । उनले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताए ।

मन्त्री किरातीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिए । उनले वायु सेवा निगमका विमानहरूलाई घाममा सुकाएर राख्ने छुट निगमलाई नभएको बताए ।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिस्ट सर्किटको विकास गर्न कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरूलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताए । उनले लुम्बिनीको क्षेत्रबाट मलेसिया लगायत अन्य देशमा वैदेशिक रोजगारीमा जानेहरू घर फर्कन सहज बनाउने योजना रहेको बताए । उनले नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने बताए ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौँको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्