लुम्बिनी प्रदेशले झन्डै ४० अर्बको बजेट ल्याउँदै

यो वर्ष बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने


पालिका पत्र

१ असार २०८०, शुक्रबार १४:१७ मा प्रकाशित

कपिलवस्तु, ०१ असार । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।


संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै ४ अर्ब बजेट कम छुट्याएको छ । चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो । आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।

चालू आर्थिक वर्षमा समानीकरणतर्फ ८ अर्ब ५४ करोड बजेट थियो । अहिले ८ अर्ब १४ करोड ८३ लाख रूपैयाँ बजेट प्राप्त भएको छ । सशर्ततर्फ ८ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा ५ अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ ।

समपूरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो ।

आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ । बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ । प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ।

यो वर्ष बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको छ । आगामी आर्थिक वर्षमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने सरकार प्रवक्ता मन्त्री सन्तोष पाण्डेले जानाकरी दिए ।

प्रतिक्रिया दिनुहोस्