तिलोत्तमा नगरपालिकाले ल्यायो करिब पौने ३ अर्वको बजेट


पालिका पत्र

१० असार २०८०, आईतवार १७:५६ मा प्रकाशित

बुटवल, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ।

उप—प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमानित बजेट पेश गरिन।

तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो। चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ। यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैंया प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गरिएको हो। बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उप—प्रमुख चौधरीले बताईन। बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ। यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैगिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ।

नगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले उल्लेख गरिन। तिलोत्तमा नगरले स्थापित गरेको गरिमालाई थप उचाइँमा पुर्याउने गरी ल्याइएको बजेटले नगरभित्रका बहुआयामिक पक्षलाई सम्बोधन गरिएको बताईन।

आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रहनुभएकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बबताईन।

तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खांणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो।

आइतबार प्रस्तुत भएको बजेट तथा आर्थिक ऐनको दफाबार छलफलको लागि नगर प्रमुख खांणले असार १६ गते दिउंसो २ बजे नगरसभाको तेस्रो बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्