शिवराजका ७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री


१२ असार २०८०, मंगलवार २०:१२ मा प्रकाशित



चन्द्रौटा, असार १२ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । वडामा भएका अति बिपन्न गरिब तथा अभिभावक बिहिन ७० जना विद्यार्थीहरुको शैक्षिक स्तर उन्नतिका लागि झोला, कापी, कलम,पोषाक संगै नास्ताको लागि टिफिन बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।


वडा स्तरीय बार्षीक कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट शैक्षिक सामाग्री बितरण गरेको सापकोटाको भनाई छ । समाजमा अभिभावक बिहिन बालबालिका लाई शिक्षामा टेवा पुग्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको र वडाले अभिभावकत्व ग्रहण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । बुवाआमा नभएका तथा विपन्न बालवालिकाहरुलाई पठनपाठनमा सहज बनाउने वडाको उद्देश्य हो,सापकोटाले भन्नुभयो ‘शिक्षा नभए सम्म समाज विकास नहुने भएकोले शिक्षा पहिलो प्राथमिकता हुने गर्दछ, ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर उपप्रमुख शिव कुमारी चौधरीले बालबालिकालाई वडाले शैक्षिक सामाग्री बितरण गरेको धन्यवाद दिनुभयो । अभिभावकले पनि आफ्नो बालबालिकाको ख्याल गरि शैक्षिक स्तरको बारेमा निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई जंग फुड भन्दा नि घर बाटै पोसिलो नास्ताको ब्यबस्था गरि बिद्यालय पठाउन आग्रह गर्नुभयो ।


कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले विद्यार्थीहरुलाई पठपाठनमा सहज हुने बताउनुभयो । शिक्षाको स्तर बढाउन नगरपालिका विभिन्न काम गरेको बताउँदै आजका वालवालिका भोलिका कर्णधार हुने बताउनुभयो । अभिभावक नभएका बालवालिकाहरुको अभिभावक भनेको नगरपालिका र वडा कार्यलय रहेको जिकिर गर्नुभयो । कार्यक्रम वडा सदस्य श्यामलाल थारुको स्वागत मन्तव्य र शिवराज नगरपालिका ३ का प्राविधिक शिव पराजुली को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्