कपिलवस्तुका १० मध्ये ८ पालिकाले ल्याए झण्डै ८ अर्ब बजेट


पालिका पत्र

१२ असार २०८०, मंगलवार २१:११ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुका अधिकांश पालिकाहरुले ऐनको पूर्ण परिपालना गरेको पाईएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने ब्यवस्थाको पालना गरेको पाईएको हो ।

स्थानीय तहको आगामी आव २०८०/८१ का लागि मंगलबारसम्म जिल्लाका ८ स्थानीय तहले मात्रै बजेट प्रस्तुत गरेका छन् । हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार कपिलवस्तुका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

तर कपिलवस्तुका दुईवटा गाउँपालिका मायादेवी र यशोधरा गाउँपालिकाले भने प्रावधान अनुसारको असार १० गतेभित्रै बजेट ल्याउन सकेनन् । ति पालिकाहरुमा आन्तरिक विवाद, कर्मचारी अभाव र तयारी अपुगका कारण बजेट समेत प्रस्तुत हुन सकेको छैन् । कपिलवस्तुका १० वटा पालिकामध्ये ८ वटाले भने बजेट प्रस्तुत गरेका छन् ।

आठ पालिकाहरुले ७ अर्ब ६१ करोड ५२ लाख २२ हजार रुपैयाको बजेट ल्याएका छन् । प्रस्तुत बजेटमा सबैभन्दा बढि बाणगंगा नगरपालिकाको बजेट रहेको छ । भने सार्वजनिक भएको मध्ये सवैभन्दा कम शुद्धोधन गाउँपालिकाको रहेको छ ।

बाणगंगा नगरपालिकाले १ अर्व ५६ करोड ३२ लाख ९३ हजार, शिवराज नगरपालिकाले १ अर्व २७ करोड ५ लाख ५० हजार, बुद्धुभुमी नगरपालिकाले १ अर्व १८ करोड २२ लाख २७ हजार रुपैयाको आयब्यय प्रस्तुत गरेका छन् ।

यस्तै, कपिलवस्तु नगरपालिकाले ९२ करोड ९२ लाख, महाराजगंज नगरपालिकाले ९२ करोड ७५ लाख ८१ हजार र कृष्णनगर नगरपालिकाले ६८ करोड ९९ लाख ८६ हजार बजेट प्रस्तुत गरेका छन् ।

बिजनगर गाउँपालिकाले ५५ करोड ७९ लाख ८ हजार र शुुद्धोधन गाउँपालिकाले ४९ करोड ४२ लाख ५८ हजार रुपैया बजेट प्रस्तुत गरेका छन् । कपिलवस्तुमा मायादेवी र शुद्धोधन गाउँपालिकाले अझैसम्म बजेट प्रस्तुत गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्