बजार अनुगमन टोली पुगेपछि ब्यापारीको भागाभाग…


पालिका पत्र

१३ असार २०८०, बुधबार ०८:२५ मा प्रकाशित


पालिका पत्र, असार १३ । एकाविहानै पुरानो एवं चर्चित ब्यापारिक केन्द्र पथ्थरकोटमा अनुगमन टोली पुग्यो । जब एउटा होटलमा टोलीले चेक जाँच सुरु गर्यो, तब वरिपरिका पसलका सटरको आवाजको गुञ्जन बढ्न थाल्यो ।

विहान भर खुल्ला रहेका सटर संयुक्त अनुगमन टोली पुग्ना साथ एकै छिनमा बन्द भए । उनीहरु अनुगमन टोली आएको थाहा पाएपछि धमाधम सटर बन्द गरेर गायब भए, ब्यापारीको भागाभाग भयो ।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा पर्ने पथ्थरकोट बजार कपिलवस्तुको ऐतिहासिक पुरानो बजार हो । त्यहाँ केहि नयाँ तथा केहि पुराना व्यापारी छन् ।

सोहि स्थानलाई लक्षित गरेर मंगलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको संयुक्त अनुगमन टोली पुगेको थियो ।

टोलीले बाँकि केहि पसलहरुको अनुगमन गर्‍यो । अनुगमनमा खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भए नभएको विषयमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुले जनाएको छ ।

बढ्दो शहरीकरण संगै बजारहरुको नियमन गर्न सरकारी निकायले अनुगमन बढाएको हो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजारका पसलहरु कानुन वमोजिम संचालन भए नभएको बारे जानकारी लिन सरकारी तवरबाट संयुक्त अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

अनुगमन टोलीले पथ्थरकोटका ७ वटा र गोरुसिङ्गे, बुड्डी लगायतका केहि पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलहरुमा मूल्यसूची नभेटिएको, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नविकरण नभएको, अनुमती नभएका तथा म्याद गुर्जेका वस्तुहरुको विक्री वितरण भइरहेको र सरसफाई नभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्