गैडहवा गाउँपालिकाका ५ सय ९४ परिवारले पाए जग्गाधनी पुर्जा


पालिका पत्र

१५ असार २०८०, शुक्रबार ११:५६ मा प्रकाशित


कपिलवस्तु, असार १५ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा गाउँब्लक जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको हातबाट गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।

नापी कार्यालयले गाउँपालिकाको गाउँ ब्लकमा जोतभोग गरिरहेका पाँच सय ९४ घरपरिवारलाई जग्गा धनीको जग्गा नाप नक्सा गरी जग्गा धनी पूर्जा वितरण गरेको हो । घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका पाँच सय ९४ घरपरिवारलाई गाउँ ब्लक अन्तर्गतको सयौं हेक्टर क्षेत्रफलको जग्गाको लालपूर्जा वितरण गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी गराए ।

गैैडहवा गाउँपालिका अन्र्तगत वडा नं. ६,७ र ८ मा जग्गाधनिले जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा पाएका छन् । ६३ वर्ष यता जग्गाको लालपूर्जा वितरण गरिएको थिएन जग्गाधनीले लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतका कार्यबाट वञ्चित थिए ।

विहिवार एक विशेष पूर्जा वितरण कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिकाका अध्यक्ष पौडेलले भने ‘पुस्तौंदेखि बसेको घर कानुनी रुपमा उनीहरुको थिएन । जोतखन गरेको जमिन सरकारकै नाममा थियो । खेतिपाती गर्ने र बस्ने बाहेक उनीहरुले आफ्नो जायजेथा बेचेर अन्त जान वा कुनै कारोबार गर्न पाएका थिएनन् । हामीले उनीहरुको गुनासो सुनेपछि तत्काल यसको समाधान खोज्यौं । आखिर इच्छाशक्ति भए गर्न सकिने रहेछ ।’ मन्त्री सामु पौडेलले भने करको दायारा २ सय प्रतिशत छ यो ठाउँमा मजदुरी गरेर मेहनत गरेर खाने मजदुरछन तिनिहरुलाई कर घटाएर ति निमुखाहरुलाई बाच्ने खाने र लालपुर्जा पाएर घरमा आराम संग सुत्ने वातावरण मिलाउन आग्रह गरे ।

रुपन्देही क्षेत्र नं. ५ का सांसद बासुदेव घिमिरेले जग्गा भएर पनि भोग चलन गर्न वषौं देखि नपाएका र खाली चुनावमा मात्र लाल पुर्जा दिन्छौ भनेर भोट माग्न आउने गरेको र यस वर्ष साच्चीकै लाल पुर्जा पाएकोमा गैडहवा वासीलाई धन्यबाद व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रमको अवसरमा आजदेखि पुनः गाउँ ब्लक जग्गाको नापजाँच सुरु भएको छ । गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट नापजाँच सुरु भएको हो । जग्गा आवासका लागि योग्य भएको र सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्