बाणगंगामा धान दिवसः कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड


पालिका पत्र

१५ असार २०८०, शुक्रबार १९:०१ मा प्रकाशित


कपिलवस्तु, असार १५ ।
आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कपिलवस्तु सहित देशभर भव्यताका साथ मनाइएको छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ आज जिल्लाको बाणगंगा, विजयनगर लगायत विभिन्न ठाउँमा हिलोमा धान रोपेर एकअर्कामा शुभकामना साटासाट गरि धान दिवस मनाइएको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ३ चङ्खीपुरमा भएको रोपाई महोत्वसमा बोल्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले धान दिवसको अवसरमा मात्र कृषिका कुरा गरेर कृषिको प्रवद्र्धन हुन नसक्ने बताए ।
नेपाल कृषि प्रधान देश भएपनि कृषिलाई आधुनिकीकरण गर्न नसक्दा पछि परिरहेको उनको भनाई छ । विगतमा नेपालले विभिन्न राष्ट्रमा चामल लगायत कृषि सामाग्री निर्याता गरेको स्मरण गर्दै अहिले भने बिदेश बाट आयात गर्नु दुःखद भएको सांसद अधिकारीले बताए । राज्यले उचित कदम चाल्न नसक्दा खेतीयोग्य जमिन कङ्कृटमा परिणत हुँदै गएको स्विकार गर्दै अब तत्काल राज्य त्यसप्रति सचेत हुन नसके देश ठुलो समस्यामा पर्ने उनले जिकीर गरे ।

सांसद अधिकारीले कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रमा खेती हुने कालानमक, साखा लगायत जातका धानहरु लोप हुँदै गैरहेको भन्दै त्यसमा स्थानिय सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । बाणगंगा र सिङ्गो कपिलवस्तुमा सिचाइँको व्यवस्थापन गरि कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न बाणगंगा नदिमा रहेको पानीलाई विभिन्न माध्यम बाट सदुपयोग गर्न सकिने उनले बताए । आफुहरु कृषक, कृषि सामाग्री केन्द्र, सहकारी लगायत कृषि सम्बन्धी विभिन्न कार्यालयमा जाँदा अहिले देशमा जम्माजम्मी मौजदात रहेको मलले १ तिहाई किसानहरुको लागि पनि नपुग्ने भन्दै कृषकहरुले गुनासो गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अब कृषिको क्षेत्रमा लागत घटाई उत्पादन बढाउनको लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् । उनले परम्परागत ढङ्गले खेती गर्दा लागत अत्याधिक लाग्ने तर उत्पादन भने निक्कै न्युन हुनेभएकाले कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए । विगतका वर्षहरुमा पनि बाणगंगाका किसानहरुको लागि नगरले कृषि सामाग्री वितरण देखि कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै त्यसलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले आजको यो धान दिवस तथा रोपाइँ कार्यक्रमले नेपाली जनतामा कृषि प्रतिक माया र कृषि कर्म बढ्ने विश्वास व्याक्त गरे । आगामि आर्थिक वर्षको लागि नेपाल सरकार र बाणगङ्गा नगरपालिकाले पनि कृषि क्षेत्रको लागि आवस्यक बजेट छुट्याएको भन्दै सम्पुर्ण नेपालीहरु कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेष बहादुर केसीले हरेक नेपालीको सामाजिक आर्थिक तथा सांस्कृतिक जिवन सँग गाँसिएको धान नेपालीको पहिलो खाद्यान्न बालीको रुपमा रहेको बताए । जन्मदेखि मृत्यु सम्मका कर्ममा तथा वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकोले हामिले धानखेतीलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाई छ ।

बाणगंगाको चङ्खीपुरमा बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजना तथा गौरीशंकर आई. पि. एम. कृषिक समुहको प्राविधिक सहयोगमा आयोजित २० औं राष्ट्रिय धान दिवस मनाईएको हो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी, कार्यपालिका सदस्य कृष्ण बहादुर सुनार, गौरीशंकर आई. पि. एम. कृषिक समुहका पदाधिकारी, सुरक्षाकर्मी, स्थानिय लगायतको उपस्थितीमा रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्