शिवराजमा फुसको घर भएका विपन्नलाई जस्तापाता


पालिका पत्र

२० असार २०८०, बुधबार १७:४८ मा प्रकाशित


शिवराज, असार २० ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ। वडाभित्र बसोवास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।

आगलागीबाट बच्न, वर्षेनि छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको उनले बताए। नगरपालिकाको ११ औं नगरसभाबाट स्वीकृत वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत अति विपन्न गरिब परिवारलाई जस्तापाता वितरण गरिएको हो।

प्रति घरपरिवारलाई तीन बन्डलका दरले वितरण गरिएको हो। जस्तापाता वितरण गर्दै सापकोटाले फुसले छाएको ठाउँमा जस्तापाता लगाउन आग्रह गरे। विगतका वर्षहरूमा कतिपयले जस्तापाता लैजाने तर नछाउने गरेको पाइएकाले यसपटक त्यस्तो हुन नदिने उनले बताए।

‘वडाले गरिब विपन्न नागरिकहरूलाई प्रत्येक वर्ष वितरण गरिरहेको छ’, सापकोटाले भने‚ ‘वडालाई फुस छानो मुक्त बनाउने योजनास्वरूप जस्तापाता वितरण गरेका छौँ।’ वडाका बलुहवा‚ वसन्तपुर, भितिरिया, कटुवा, मदवा, हचुवा लगायतका गाउँका विपन्न तथा दलित परिवारलाई वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्