लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित


पालिका पत्र

२१ असार २०८०, बिहीबार ११:१२ मा प्रकाशित

देउखुरी, असार २१ । लुम्बिनी प्रदेशको बजेट बहुमतले प्रदेशसभाबाट पारित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको हो । असारमा १ गते आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा बजेट पेस गरेका थिए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको जनाए । उनले प्रदेशबासीको मनोभावना अनुसार बजेट ल्याइएको र सरकारले सोहीअनुसार काम गर्नेसमेत बताए ।

आर्थिक मामिलामन्त्री मास्कीले पनि यसवर्ष बजेटमा देखिएका समस्या आगामी वर्षमा सुधार गर्दै जाने बताए । उनले प्रतिपक्षले उठाएका सही मागप्रति सरकार सम्बोधन गर्न तयार रहेको जनाउँदै केही समस्या र विमति भए छलफलबाट टुँग्याइने जनाए ।

यसअघि बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरेर बजेटमाथिको छलफलमै सहभागी भएको थिएन । एमालेकै नाराबाजी र बहिस्कारका बीच बजेटमाथि छलपल अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्