हुलाकी राजमार्ग बिस्तारको काम कति भयो ? (भिडियो)

कपिलवस्तु र नवलपरासीमा ५१ किमि सडक बिस्तार


पालिका पत्र

२४ असार २०८०, आईतवार १२:२५ मा प्रकाशित


कपिलवस्तु, असार २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी राजमार्ग विस्तारको काम ६० प्रतिशत सम्पन्न गरिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले मुख्यतः कपिलवस्तु र नवलपरासी जिल्लाको हुलाकी क्षेत्रलाई कार्यक्षेत्र छुट्याई बिस्तार कार्य गर्दै आएको छ ।

दुई जिल्लाको हुलाकी राजमार्ग अन्र्तगत पर्ने एकसय ५ दशमलव ७ किमीमध्ये अहिलेसम्म ५१ किमी कालोपत्रे सकिएको छ । कपिलवस्तु खण्डमा पर्ने ६९ किलोमिटरमा हालसम्म ४१ किलोमिटर हुलाकी सडक कालोपत्रे गर्ने कार्य सकिँदा परासी क्षेत्रमा पर्ने ३६ दशमलव ७ किलोमिटर हुलाकीमा १० किलोमिटर मात्रै कालोपत्रे गर्ने कार्य सकिएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्रै कपिलवस्तु क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको कार्यालयका सुचना अधिकारी इन्जिनियर सुसिल पौडेलले बताए । त्रिवेणी नवलपरासीदेखि कपिलवस्तुको दत्तपुर–तुरुन्तपुर (बिजयनगर) सम्मको हुलाकी सडकको बिस्तारको जिम्मा पाएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले काम गरिरहेको पौडेलले बताए ।

यो आर्थिक वर्षका लागि नेपाल सरकारले यहाँको हुलाकी सडक बिस्तारका लागि ७० करोड बजेट बिनियोजन गरेको उनले जनाए । बाँकी अवधिमा काम गर्दा पहिले विनियोजित रकममात्रै पर्याप्त नहुने देखिएको उनको भनाइ छ । यो आवमा रु ७० करोड रकम सकिएको छ, उनले भने, “त्यो रकम आएर काम गर्दा यस वर्ष ६० प्रतिशत प्रगति भयो ।”

कार्यालयले यस बर्ष चारफेज (खण्ड)मा हुलाकी सडक बिस्तार कार्यलाई निरन्तरता दिएको छ । बहादुरगंज बजार पश्चिमका क्षेत्रमा जग्गाको मुआब्जाको समस्याले बिस्तार कार्य अवरुद्ध छ । केहि क्षेत्रमा भने बिवाद समाधानको निकासा नभएका कारण पनि सडक निर्माणमा बाधा परेको कार्यालयले जनाएको छ ।

खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको छ । अहिले अन्योल भएका ठाउँबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ ।

सडक बिस्तारका क्रममा गतबर्ष दुईवटा पुल निर्माण सम्पन्न भइसकेका छन् । कपिलवस्तुका चिराई खोला र सोईया खोलामा पुल निर्माण कार्य सकिसकेको छ । चारवटा पुलको कार्य निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ । कन्चनियाँ पुल, सुराई पुल, तिनाउ पुल र ठण्डा पुलको निर्माण कार्य भइरहेका छन् । सुराई खोलामा निर्माणाधिन पुलको कार्य अन्तिम चरणमा पुगेको पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्