ब्यापार घाटा १५ प्रतिशतले घट्यो, शोधनान्तर २२९ अर्व बचत

२३ प्रतिशतले रेमिट्यान्स बढ्यो


२५ असार २०८०, सोमबार १४:१७ मा प्रकाशित

कपिलवस्तु, असार २५ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई रु.१३३७ अर्ब ३९ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु. १३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२०० अर्ब ८८ करोड बराबरको भएको थियो ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.० प्रतिशत र ४४.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७४ प्रतिशत, ०.०२ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.४ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.४ प्रतिशत, १०.२ प्रतिशत र ३७.४ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०८० जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index) ३.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.८ प्रतिशतले घटेको छ । २०७९ जेठ महिनामा ९.८ प्रतिशतले घटेको व्यापारको शर्त (Terms of Trades) २०८० जेठ महिनामा ७.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.६७ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.९९ अर्ब ५० करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९४.३ प्रतिशतले वृद्धि भई रु.५८ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२९ अर्ब ८८ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत भ्रमण व्यय ३७९ प्रतिशतले वृद्धि भई रु.११९ अर्ब ९९ करोड पुगेको छ । यसमध्ये शिक्षा तर्फको व्यय रु.८९ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.८७ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.५९ अर्ब ९९ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.१११२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।
यता, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४,५९,४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २,६०,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।
खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.१२२९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति रु. २२८ अर्ब ९८ करोडले बचतमा

यस्तै, शोधनान्तर स्थिति रु. २२८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा रु.१४८० अर्ब ८७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चिति मसान्तमा रु. १०५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई रु.१३२१ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु. १५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्