ओमसतिया गाउँपालिकाः न्यायिक समितिको विश्वसनिय काम


पालिका पत्र

३ श्रावण २०८०, बुधबार १८:५१ मा प्रकाशित

ओमसतिया, साउन ०३ । ओमसतिया गाउँपालिका वडा नम्बर ३ बस्ने प्रितम हरिजन र शुभावती यादव बिच लामो समय देखि बाटोको विवाद थियो । सोही बिषयमा पटक पटक झै झगडा समेत भएको थियो । बाटोकै कारण दुबै जनाको परिवार तनावमा थिए । पटक पटकको विवादको कारण प्रहरीकहाँ ओहोर दोहोर उस्तै । लामो समय देखिको उनिहरुको यो विवाद गाउँपालिकाले मिलाई दिएको छ । गाउँपालिकामा रहेको न्यायीयक समितिले दुबै पक्षको मेलमिलाप गराई बर्षौको यो विवाद मिलाई दिएको छ । ओमसतिया गाउँपालिकाले मेलमिलापको माध्यमबाट विवादहरु निरुपण गर्न थालेपछि समितिको चर्चा हुने गरेको छ । झगडियाहरु प्रहरी प्रशासन धाउनुको सट्टा गाउँपालिकामा रहेको न्यायिक समितिमा जान रोज्न थालेका छन् । ओमसतिया न्यायिक समितिले गाउँपालिकावासीको विश्वास जित्दै गएको छ ।

न्यायिक समितिका सदस्य सचिव श्रीधर जिसीका अनुसार आर्थिक बर्ष २०७९र०८० मा गाउँपालिकाको न्यायिक समितिमा ६१ वटा उजुरी दर्ता भएको छ । यस मध्ये अधिकांश जग्गा खिचोलाकै मुद्दा रहेका छन् । यस बाहेक कुलो सम्बन्धि विवाद, गाली बेईज्जती, घरायसी विवाद देखि आर्थिक लेनदेनका उजुरीहरु समितिमा आउने गरेको छ । न्यायिक समितिमा आएका ६१ वटा मुद्दा मध्ये ३८ वटा मेलमिलापको माध्यमबाट टुङ्गो लगाईएको उनले जानकारी दिए । यस्तै ४ वटा जिल्ला अदालत तथा ५ वटा अन्य निकायमा पठाईएको उनले बताए ।

“प्रहरी प्रशासनमा धाईरहने प्रकृतिका मुद्दाहरु न्यायिक समितिले हेर्न थालेपछि अहिले उजुरी दिने बढदै गएका छन् ।” न्यायिक समितिको संयोजक सुनिता चौधरीले बताईन “पहिला भन्दा ब्यवस्थित र आफुहरुलाई पनि अद्यावधिक गर्दै अगाडी बढेका छौ ।” यसको लागि वडा वडामा मेलमिलाप केन्द्रको स्थापना गरि प्रत्येक वडामा ३ जना तालीम प्राप्त मेलमिलापकर्ताको व्यवस्थापन गरिएको चौधरीले बताइन । गाउँपालिकावासीमा न्यायिक समिति प्रति आकर्षित गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गरिएको उनले बताईन । “स्थानियहरु पनि रकम र समयको बचत भई रहेको कारण न्यायिक समितिलाई प्राथमिकतामा राख्ने गरेका छन् ।” उनले भनिन् “हामीले पनि उहाहरुको विश्वास टुट्न नदिने प्रयास निरन्तर गरिरहेका छौ ।”
चौधरीले उजुरी दर्ता गरेपछि धेरै उजुरी कर्ता सम्पर्कमै नआउनु ठूलो चुनौती रहेको बताइन । “क्षणीक आवेगको भरमा उजुरी दिएको पनि देखियो, यस्तो अवश्थामा दुबै पक्षलाई बोलाउदा उपस्थित नै हुदैनन् ।”

यस बाहेक उजुरी दर्ता गरिसकेपछि पारिवारिक मेलमिलाप भए पनि मुद्दा फिर्ता नलिनु पनि समस्याको चुनौतीको रुपम देखिएको उनले बताईन । सेवाग्राहीहरुमा न्यायिक चेतनाको कमी देखिएको कारण बिस्तारै यी चुनौतीहरु निराकरण हुदै जाने उनको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) अनुसार स्थानीय तह आफैले निरुपण (विवादको कारबाही र किनारा) गर्न पाउने विषय र ४७ (२) मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण (विवादको कारबाही र किनारा) गर्न पाउने अधिकारी क्षेत्र गरी दुई प्रकारका अधिकार रहेको छ ।

यस मध्ये ओमसतियामा ४७ (९) बमोजिम १२ वटा र ४७ (२) बमोजिम ४९ वटा उजुरी परेको न्यायिक समितिका सदस्य प्रकाश सिंहले जानकारी दिए । ओमसतिया गाउँपालिकाको न्यायिक समितिको संयोजकमा उपाध्यक्ष सुनिता चौधरी रहेकी छिन् । वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह एवम कार्यपालिका सदस्य शेर सिंह थकाली सदस्यको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्