रोल्पाको त्रिवेणी गाउँपालिकामा छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा


पालिका पत्र

४ श्रावण २०८०, बिहीबार १३:२० मा प्रकाशित

रोल्पा, ०४ साउन । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।

यो कार्यक्रम साउन १ गतेदेखि नै लागू भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । बैंकमा खाता खोली जम्मा गरिने यो रकम २० वर्षसम्म झिक्न पाइने छैन ।

‘छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भन्नुभयो । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले सक्षम बनाउका लागि यो कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । यो कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा यो कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्