बाँफीकोट गाउँपालिकामा साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत् पानी ल्याएर घट्ट सञ्चालन


पालिका पत्र

६ श्रावण २०८०, शनिबार १६:२६ मा प्रकाशित

रुकुम पश्चिम, ०६ साउन । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाको काँडामा साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत् पानी ल्याएर घट्ट सञ्चालन गरिएको छ ।

बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो’, स्थानीय भक्तबहादुर केसी भन्नुभयो ।

अब भने दुःखका दिन गएको उहाँको भनाइ छ । ‘गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्’, केसीले भन्नुभयो । गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे ।

उहाँका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो । दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि सङ्गीता केसीलाई सम्झना आउँछ । प्रदेश सरकारको १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको दुई लाख र स्थानीयको तीन लाख रुपैयाँ बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ । वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय ध्रुवराज केसीले बताउनुभयो ।

घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उहाँले बताउनुभयो । घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन् । साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ ।

दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्याङ्कीमा भण्डारण गर्ने गरिएको छ । त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ । पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीले जानकारी दिनुभयो ।

पानी ठूलो भएका कारण पनि घट्ट चलाउने, सिँचाइ र खानेपानीका लागि त्यही पानीलाई प्रयोग गरिरहेको वडाध्यक्ष शाहीले बताउनुभयो । काँडामा सधैँजसो पानीको समस्या हुने गर्छ । अब भने यस वर्षदेखि गाउँमा खानेपानीको समस्या नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्