ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुद्वारा १ करोड ७७ लाख भन्दा बढि राजस्व सङ्कलन

२५ हजार भन्दा बढि सवारी कारबाहिमा


पालिका पत्र

११ श्रावण २०८०, बिहीबार १९:१९ मा प्रकाशित


कपिलवस्तु, साउन १० ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले गत आर्थिक वर्ष २०७९–८० मा रु १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार आठ सय ५२ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।


आ.ब. २०७९–८० मा १३ हजार १ सय ३७ ट्रक कारबाही पर्दा ९९ लाख ३१ हजार ५०० राजश्व संकलन भएको छ । त्यस्तै १ हजार ५ सय ८६ बस कारबाहीमा पर्दा ९ लाख ४ हजार ५ सय रुपैयाँ, ४ हजार ९ सय ५४ जिप/कार कारबाही पर्दा २८ लाख २१ हजार ५ सय रुपैयाँ, ४ हजार ९ सय ५४ मोटर साईकल कारबाही पर्दा ३२ लाख ११ हजार ५ सय रुपैयाँ र १ सय ६१ टेक्टर/टेम्पो कारबाही पर्दा ८ लाख ४२ हजार राजश्व संकलन भएको तथ्याङ्क छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने ।


गत आवमा कार्यालयले १ हजार २ सय ९५ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ५८ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।


यस्तै आव २०७९–८० मा जिल्लामा एक सय ९ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ५५ जनाले ज्यान गुमाएका छन् । जसमा सबै भन्दा धेरै दुर्घटना हुनेमा मोटरसाईकल रहेका छन् । आ.ब. २०७९–८० मा ७७ वटा मोटरसाईकल दुर्घटना भए । जसका कारण २५ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।


आ.ब. २०७९–८० मा जिल्लामा ट्रक/बस गरि ३६ वटा दुर्घटना भए जसवाट ६ जनाको मृत्यु भएको हो । यस्तै जिप÷कार दुर्घटनाबाट १ जनाको ज्यान गएको हो । अन्य सवारी साधन दुर्घटना बाट २३ जनाको मृत्यु भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ६ सय २८ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु ६ लाख २८ हजार राजस्व सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्