रुपन्देही, ११ साउन । रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरेको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि भन्दै प्रधानाध्यापक तथा शिक्षक काजमा खटाएको छ । गाउँपालिकाको उक्त निर्णयको पालिकाका बिभिन्न बिद्यालयहरुका बिद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुले बिरोध गरेका छन् ।
बुधबार धकधईमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षहरुको सबै भन्दा ठूलो रोष निर्णय प्रकृयामा आफुहरुलाई संलग्न नगर्नुमा देखाएका छन् । लामो समय देखि यस बिषयमा छलफल हुने गरे पनि निर्णय गर्दा पालिकाले एकलौटी निर्णय गरेको उनिहरुको आरोप रहेको छ । पजरकट्टि माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष निरज यादवले पालिकाले आफुहरुलाई किनारा लगाउदै अन्यायपूर्ण सरुवा गरेको दावी गरे । “१५ वटा सामुदायिक बिद्यालय मध्ये १४ वटामा मात्र सरुवा गरिएको छ ।” यादवले भने “प्रभावशाली वडाअध्यक्षको क्षेत्रमा रहेको बिद्यालय प्रति आखाँ चिम्लिने कार्य भएको छ ।”
यस्तै उनले आफ्नो बिद्यालयका प्रधान अध्यापकलाई सरुवा गरेर सोही स्तरको अर्को बिद्यालयमा अन्यायपूर्वक शिक्षकको रुपमा खटाएको गुनासो गरे । पालिकाले शिक्षकहरु सरुवा गर्दा तह अनुसार ब्यवस्थापन गर्न नसकेको पशुपति आधारभूत बिद्यालयका अध्यक्ष नगेन्द्र धवलले बताए ।
उनले छात्राहरुमाथि दुब्र्यवहार गर्ने शिक्षकलाई आफ्नो बिद्यालयमा प्रधान अध्यापकको जिम्मेवारी तोकिएको आरोप लगाए । “छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोपमा महिनौ निलम्बित रहेका शिक्षकलाई प्रअ तोकिएको छ ।” धवलले भने “मैले कुनै पनि हालतमा उनलाई बिद्यालयमा हाजिर गर्न दिन्न, हाजिर गराउने भए पालिका अध्यक्ष आफै आउनुप¥यो ।”
पालिकाले आफ्नो निर्णय नसच्याए सम्मको लागि शिक्षक सरुवा रोक्का गर्न उनिहरुले गाउँपालिकामा ज्ञापन समेत बुझाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को शैक्षिक कार्यक्रम र पढाइ समीक्षा गर्दै गाउँपालिकाले लगानी गरेअनुरुप शैक्षिक प्रतिफल प्राप्त हुन नसकेकाले आगामी बर्ष शैक्षिक दृष्टिकोणले अब्बल र नमूना बनाउन भन्दै शिक्षकहरुको सरुवाको निर्णय गरेको थियो । गत शैक्षिक सत्रमा कक्षा ८ मा ८ प्रतिशत र कक्षा ५ मा १० प्रतिशत मात्र नतिजा आएको थियो ।