महिलाको नेतृत्वमा वडास्तरका सबै योजना सम्पन्न


पालिका पत्र

१५ श्रावण २०८०, सोमबार १६:२४ मा प्रकाशित

रुकुम पश्चिम, १५ साउन । संविधानले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य गरेपछि विकासरनिर्माणका योजनाहरूमा महिला सहभागिता बढ्दै गएको छ । विकासरनिर्माणका योजनाहरूमा महिलालाई सदस्य तथा कोषाध्यक्षसम्ममा राखेर नाम मात्रको सहभागिता देखाउने गरेको गुनासो आइरहेको बेला रुकुम पश्चिमको एउटा वडाले भने वडाबाट सञ्चालित सबै योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ ले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरेका सबै विकासका काम महिलाकै नेतृत्वबाट सम्पन्न गरेको हो । वडाध्यक्ष ज्ञानु चन्द्र चन्दले गएको आर्थिक वर्षमा वडा कार्यालयबाट विनियोजित बजेटमा भएका विकासे कामहरू महिलाको नेतृत्वमा सम्पन्न गरिएको बताउनुभयो । वडा कार्यालयले गोरेटो बाटो, सडक, सामुदायिक भवन, प्रतीक्षालय, ट्रस निर्माण लगायतका योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको हो ।

वडाध्यक्ष चन्दका अनुसार विकासका काममा महिलाको पहुँच, सशक्तीकरण र अवसरका लागि यस्तो कार्य गरिएको हो । उहाँले गएको आवमा वडा क्षेत्रमा उपभोक्ता समितिमार्फत सम्पन्न भएका २१ वटा योजनाको नेतृत्व महिलाले गरेका बताउनुभयो । वडामा निर्वाचित जनप्रतिनिधिले निर्णायक तहमा महिलाको सहभागिता बढाउनका लागि सबै उपभोक्ता समितिमा महिला अध्यक्ष र समितिमा महिलाको बाहुल्यता रहने गरेर सहमति गरिएअनुसार उपभोक्ता समिति निर्माण गरिएको हो । वडा कार्यालयको तथ्याङ्कअनुसार वडाबाट विनियोजित ९८ लाख र प्रदेशबाट आएको १५ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक योजनाको निर्माण उपभोक्ता समितिमा महिलालाई नै अध्यक्ष बनाइएको हो । कतिपय योजनाको निर्माण समितिमा महिलामात्र पनि रहेका थिए ।

वडाध्यक्ष चन्दले महिलाको अगुवाइमा भएका यी सबै योजना समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले पुरुषले योजनाको मूल्याङ्कनमाथि प्रश्न गर्ने, गुनासो गर्ने, समयमा काम नगर्ने, यो वा त्यो बहाना गरेर पन्छिने गरेको बेलामा महिलाले इमानदारिताका साथ योजना सम्पन्न गरेको बताउनुभयो । सबै समितिले तोकिएको समय र बनाइएको लागत विवरणअनुसार काम गरेको उहाँको भनाइ छ ।

वडा नम्बर १ को चौफारी–मुखियाटोल–काँडेदह बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रश्मी पुन केसीले समितिमा सबै महिलामात्र रहेको बताउनुभयो । महिलाले पनि गर्न सक्छन् भन्ने गरेर उदाहरणीय काम गरेको उहाँले जनाउनुभयो । वडाको पाँच लाख रुपैयाँ बजेटमा तोकिएकै समयमा काम सकिएको उहाँले बताउनुभयो ।

घिमाने सामुदायिक भवन निर्माण समितिकी अध्यक्ष गीता खड्काले वडा कार्यालयले महिलालाई राम्रो अवसरको सिर्जना गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘हामीले वर्षौँदेखि महिलाको नेतृत्व र निर्णायक तहमा सहभागिताका बारेमा बोलिरहेका थियौँ, हाम्रो माग वडा सरकारले सुनुवाइ गरेको महसुस भएको छ ।’ उहाँले पुरुषको साथ र सरकारको सकारात्मक पहलले महिलामा हौसला थपिएको जनाउनुभयो ।

यसअघि गाउँमा कुनै भेला, बैठक तथा छलफल गर्नुपरेमा खुला चौर अथवा व्यक्तिको घरमा बस्नुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या पनि समाधान भएको छ । बैठक हल, कार्यालय कोठा, शौचालयसहित निर्माण सम्पन्न भएको सामुदायिक भवनमा टोलका ४२ घर लाभान्वित हुने बताइएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा पनि वडामार्फत हुने विकासरनिर्माणका योजनाहरूमा पनि महिलाकै नेतृत्व राख्न पहल गर्ने जनाएको छ । साभार

प्रतिक्रिया दिनुहोस्