बाणगंगा नगरपालिकाद्वारा १ लाख बराबरको सहायता सामग्री हस्तान्तरण


पालिका पत्र

२३ श्रावण २०८०, मंगलवार १७:०६ मा प्रकाशित


पालिका पत्र बाणगंगा, साउन २३ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गमैत्री सहायता सामग्री हस्तान्तरण गरेको छ । पालिकाले एक कार्यक्रमका विच अपांग उत्थान समाज कपिलवस्तुलाई सामग्री हस्तान्तरण गरेको हो । सामग्री मंगलबार नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालल हस्तान्तरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तले जानकारी दिईन् । उनका अनुसार नगरपालिकाले सेवाग्राहीको माग अनुसार ६ वटा ह्वील चियर, १० सेट बैशाखी, १० वटा सेतो छडी, १ वटा अपांगमैत्री ट्वाइलेट चियर अपाङ्ग उत्थान समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष हेमनाथ ज्ञवालीलाई हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख अर्यालले सहायता सामग्री हस्तान्तरण गर्दै यस्ता सामग्रीले अपाङ्गताका भएकाहरुलाई दैनिक जीवनयापन गर्न थप सहजहुने विश्वास व्यक्त गरे । उनले हिडडुल गर्न संघर्ष गर्नेहरुलाई बाहिरी वातावरणमा समायोजन हुन सहयोग पुग्ने बताए । बाणगंगा नगरपालिकाले विगतदेखि नै अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले भने ‘अपाङ्गता कसैको रहर होईन् । बाध्यता हो । उनीहरुलाई सबैले सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । आगामी दिनहरुमा थप काम गर्न प्रतिवद्ध छु ।’ उनले अपाङ्गमैत्री नगर बनाउन नगर प्रतिवद्ध रहेको समेत दाबी गरे । नगरपालिकाले नगरमा बनाउने सरकारी संरचना अपाङ्गमैत्रीबनाउँदै जाने उनले बताए ।

प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको संरक्षण गर्न नगरपालिका लागिपरेको बताए । अपाङ्गताको क्षेत्रमा काम गर्ने हरेक निकायसंग समन्वय गर्न नगर सधै तयार छ,’ उनले भने । उनले अपाङ्गता भएका ब्यक्तिहरुको सहजताका लागी सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउँदै उनीहरुले अवसर पाएमा क्षमता अनुसारको काम गर्न सक्ने बताए ।


महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तले हस्तान्तरण गरिएका सामग्री बाणगंगा नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिने बताईन् । उनका अनुसार नगरपालिका र अपांग उत्थान समाज कपिलवस्तुमा सामग्रीका लागी माग आएपछि नगरपालिकाले एक लाख बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरेको हो । बाणगंगा नगरपालिकामा ५ सय ५२ जना पुरुष र ३ सय ३६ जना महिला गरि कुल ८ सय ८८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरु रहेको उनले जानकारी दिईन् । बाणगंगामा रातो कार्ड लिनेको संख्या ७ सय २३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्