लुम्बिनीको निजामती विधेयकमा ७२ घण्टे सुझाव संकलन


पालिका पत्र

२५ श्रावण २०८०, बिहीबार १८:२९ मा प्रकाशित

श्रावण २५ । लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानुन उपसमितिले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०८० का सम्बन्धमा ७२ घण्टाभित्र सुझाव पेस गर्न आह्वान गरेको छ ।

बिहीबार दिउँसो साढे २ बजेदेखि लागि हुने गरी समय निर्धारण गरेर सुझाव माग गरिएको छ । जारी सार्वजनिक सूचनामा उपसमितिले विधेयकमा कस्ता विषय समेट्दा ठीक होला भनेर सुझाव मागेको हो ।

चार दिनसम्म दैनिक ११ घण्टासम्म चलेको छलफलमा उपसमितिले निजामती सेवा समूह विभाजन, कर्मचारी भर्ना प्रक्रिया, कर्मचारी बढुवा, कर्मचारीको कार्यदक्षता र कार्यसम्पादन मूल्यांकन सम्बन्धमा सुझाव मागेको हो ।

त्यस्तै कर्मचारीको अवकाश, आचारण र कर्मचारीको आधिकारिक ट्रेड युनियन सम्बन्ध रहेका छन् । सेवाग्रही, सर्वसाधारण र सरोकारवालाले निजामती विधेयकमा के कस्तो विषय समेट्दा सेवा प्रभावकारी हुन्छ भनेर सुझाव मागिएको छ । बिहीबार पनि बिहानैदेखि छलफल चलिरहेको उपसमितिका संयोजक भोजप्रसाद श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशभित्र प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, कार्यालय र निकायमा कर्मचारी तथा जनशक्ति व्यवस्थापनका लागि प्रदेश निजामती सेवा ऐनको व्यवस्था गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भई सो विधेयकउपर पर्न आएको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको र थप छलफलका लागि गठित ७ सदस्यीय उपसमितिले ७२ घण्टे सुझाव मागेको हो ।

प्रतिक्रिया दिनुहोस्