बुटवलमा विद्यालय वर्गीकरणको आधारमा अभिभावकबाट लिने नयाँ शुल्क निर्धारण


पालिका पत्र

३० श्रावण २०८०, मंगलवार १५:४९ मा प्रकाशित

बुटवल, साउन ३०। बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकबाट लिने मासिक शुल्क, भर्ना र बसको नयाँ भाडा दर निर्धारण गरेको हो ।

बुटवलका निजी तथा संस्थागत विद्यालयले बढी शुल्क असुलेको भन्दै अभिभावकहरू आन्दोलित भएका थिए । अभिभावकको आन्दोलनपछि २०७३ सालमा गरिएको विद्यालय वर्गीकरणको आधारलाई मानेर नयाँ शुल्क निर्माण गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले २०७६ सालमा बनाएको शुल्क सम्बन्धी मापदण्डभन्दा बढी शुल्क असुलेको गुनासो अभिभावकले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययन अनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३०–७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएको छ ।

बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क कडाइका साथ लागू गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । चालू शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्व प्राथमिक तहको लागि मासिक शुल्क २ हजार, ‘ख’ वर्गका विद्यालयले २ हजार ४०० र ‘क’ वर्गका विद्यालयले बढीमा २ हजार ७५० मात्र मासिक शुल्क लिन पाउनेछन् । प्राथमिक तहमा (१ देखि ५ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार २००, ‘ख’ वर्गका विद्यालयले २ हजार ६०० र ‘क’ वर्गका विद्यालयले ३ हजार रुपैयाँ बढीमा लिन पाउने मापदण्ड उपमहानगरपालिकाले जनाएको छ ।

निमावि तहमा (६ देखि ८ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार ६००, ‘ख’ वर्गका विद्यालयले ३ हजार र ‘क’ वर्गका विद्यालयले ३ हजार ३०० मासिक शुल्क लिन पाउने छन् । माध्यमिक विद्यालयका ग, ख र क वर्गका लागि क्रमश ३ हजार २००, ३ हजार ६०० र ४ हजार २०० शुल्क निर्धारण गरिएको छ भने ११ र १२ कक्षाका ग, ख र क वर्गका लागि क्रमशः ३ हजार ५००, ४ हजार १०० र ४ हजार ७०० शुल्क निर्धारण गरिएको छ । मावि ११ र १२ कक्षामा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४ हजार ७००, ५ हजार र ५ हजार २०० लिन पाउने छन् । व्यवस्थापनतर्फ क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरिएको छ ।

उपमहानगरपालिकाले भर्ना शुल्क र बसको भाडा दर पनि तोकेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएकोभन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । त्यसलाई सोमवार राजपत्रमा प्रकाशित गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख टेकराज पन्थीले बताए । नयाँ शुल्क दर कायम गरिए पनि विद्यालयहरुको वर्गीकरण भने २०७३ सालमा भएकोलाई नै आधार मानिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्